मध्य मेक्सिकोको सालामान्का सहरमा आइतबार एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमाथि गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। स्थानीय अधिकारीहरूले सोमबार घटनाको पुष्टि गरेका हुन्।
गुआनाजुआटो राज्यको करिब एक लाख ६० हजार जनसंख्या भएको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए। घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा अस्पतालमा निधन भयो। घाइतेमध्ये एक महिला र एक बालक पनि रहेका छन्।
सहरका मेयर सेजर प्रिटोले संगठित अपराध समूहहरूलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुनःस्थापना’ गर्न आग्रह गरेका छन्। उनले भने, “हामी गम्भीर सामाजिक विघटनको सामना गरिरहेका छौँ। अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन्।”
यस घटनाअघि पनि सालामान्कामा शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो। गत हप्ता सरकारी तेल कम्पनी पेमेक्सको सालामान्कास्थित रिफाइनरीमा बम आक्रमणको धम्कीसमेत दिइएको थियो।
औद्योगिक र पर्यटनको केन्द्र मानिने गुआनाजुआटो राज्य आधिकारिक तथ्यांकअनुसार मेक्सिकोकै सबैभन्दा हिंसक राज्य मानिन्छ। यहाँको हिंसाको अधिकांश भाग तेल चोरी र ड्रग कार्टेल—सान्ता रोजा डे लिमा गिरोह र जलिस्को न्यु जेनेरेसनबीचको द्वन्द्वसँग जोडिएको छ। घटनापछि बन्दुकधारीहरूको खोजी तीव्र पारिएको अधिकारीहरूले बताएका छन्।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशककै सबैभन्दा तल्लो तहमा झरेको दाबी गरे पनि विज्ञहरूले यी तथ्यांकको पूर्ण विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।
सन् २००६ मा कार्टेलहरूमाथि कडा कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने एक लाख २० हजारभन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ। अपराधग्रस्त राष्ट्रमा सामूहिक चिहान र दफन नगरिएका शवहरू नियमित रूपमा फेला पर्ने गरेका छन्।