काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिमा प्रवेश गरेको घोषणा गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेनसँगको तस्बिर सार्वजनिक गर्दै आफू रास्वपामा आबद्ध भएको जानकारी दिएका हुन्।
आफ्नो घोषणामा उनले सम्पूर्ण नेपालीहरूको व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ समय र नयाँ आन्दोलनलाई सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने निर्णय गरेको उल्लेख गरेका छन्।
उनले रास्वपामा प्रवेशलाई आफ्नो जीवनकै कठोर निर्णयका रूपमा व्याख्या गरेका छन्।
‘मैले बडो दुःख, संघर्ष, मिहिनेत र धैर्यताले टिकाएको मेरो कला–सिर्जनामार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थुप्रै दर्शक–श्रोताको मन दुखाएर तपाईँहरूसँग हातेमालो गर्दैछु। पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो। मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ,’ उनले लेखेका छन्।
साथै, कुनै एक दलमा लागेको कारण आफूबाट मन दुखाउने दर्शक–श्रोताको मन काम र इमानदारीबाट जित्ने विश्वास व्यक्त गर्दै उनले भनेका छन्, ‘कुनै एउटा दलमा लागेको भनेर अहिले मसँग मन दुखाउने मेरा प्रिय दर्शक–श्रोताको मन हामीले हाम्रो काम र इमानले जित्नेछौँ। हामी सँगै देशले जित्नेछ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश सपुतलाई २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ दलित कोटाबाट उम्मेदवार बनाएको छ। भर्खरै मेला–महोत्सवको सांगीतिक टूर टुंग्याएका प्रकाश अब चुनावी प्रचार–प्रसारमा जुट्ने भएका छन्।