सर्लाही।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति कांग्रेससँग मात्र रहेको बताउनुभएको छ।
मङ्गलबार सर्लाहीको बलरा नगरपालिका–९, छतौनामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले भन्नुभयो, “हामी उत्तेजनाबाट चल्दैनौँ, शान्तिपूर्ण किसिमले अघि बढेर देश सम्हाल्न खोज्दैछौँ। फागुन २१ पछि जनताको माग अनुसार कांग्रेसले देशको नेतृत्व सम्हाले छ।”
सभापति थापाले वर्तमान कांग्रेस नै देशको नयाँ पार्टी भएको दाबी गर्नुभयो। उहाँका अनुसार चुनावमा आम नागरिकमा भ्रम छर्न नयाँ नारा दिएर नयाँ पार्टी खोल्ने परिपाटी भएको छ। “टिकट लिनकै लागि रातारात पार्टी छाड्ने परिपाटी ठीक होइन,” उहाँले भन्नुभयो।
थापाले पार्टी बदलेर नयाँ सिर्षाबाट अघि बढेको कांग्रेसले देश बदल्ने जिम्मेवारी लिने बताए। उहाँले भ्रष्टाचार न्यूनिकरण र सुशासन कायम राख्नु कांग्रेसको मुख्य उद्देश्य भएको पनि उल्लेख गर्नुभयो।
सर्लाही ४ मा आफ्नो निर्वाचन क्षेत्रबाट सक्रिय रहेका थापाले सोमबार विभिन्न स्थानमा पुगेर अगुवा नेता र कार्यकर्तासँग भेटघाट गरी निर्वाचन तयारी तीव्र पार्नुभएको छ।
यसैबीच, सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंह, एमालेका अमनिसकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीका रजनिस राय, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादवलगायत उम्मेदवारहरू पनि घरदैलो तथा प्रचारप्रसारमा व्यस्त देखिएका छन्।