पर्वत।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गएको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ केन्द्रीत बनेका छन् । मतदातासँग भेटघाट गर्ने, आफ्ना विचार, सिद्धान्त र कार्ययोजना सुनाउनाले र मतप्रभावित पार्ने काममा उम्मेदवार सक्रिय बनेका छन् । जिल्लामा १३ वटा राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।
नेपाली कांग्रेसबाट अर्जुनप्रसाद जोशी चुनावी मैदानमा आउँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पदम गिरी प्रतिस्पर्धामा उत्रिनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट मनहरि शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुसाल उम्मेदवार हुनुहुन्छ । कांग्रेसले पिपलटारी, एमालेले दुर्लुङ, नेपाली कम्युनिष्ट पार्टीले राम्जादेउराली र राष्ट्रिय स्वतन्त्र पार्टीले फलेवासबाट आफ्नो चुनावी अभियान थालेका छन् ।
अहिले सबै दलका उम्मेदवार टोलटोलमा पुग्नुका साथै घरदैलो गरिरहेका छन् । केही मतदाताले स्थानीय समस्यासँगै मुलुकमा बढ्दै गएको बेथिति, भ्रष्टाचारको अन्त्य गर्न माग गरेका छन् भने अन्य मतदाताले सडक स्तरोन्नति, बाँदर आतङ्क नियन्त्रण, सिँचाइ, गुणस्तरीय स्वास्थ्य सुविधा, रोजगारीको अभावलगायत माग उम्मेदवारसँग राखिरहेका छन् ।
पर्वतका सातवटा पालिकाका ६१ वडामध्ये सबै पालिकामा कालोपत्रसहित सडकको पहुँच विस्तार भएको छ भने अधिकांश वडाका सडकमा कालोपत्र भइसकेको छ । अब टोल र बस्तीसम्म पनि गुणस्तरीय सडक निर्माण गर्न स्थानीयले माग गरेका छन् । ग्रामीण क्षेत्रमा सबैभन्दा चुनौती र जटिल विषय बाँदर आतङ्क भएकाले सोको समाधानका लागि प्रभावकारी कदम चाल्न स्थानीयले माग गरेका छन् ।
उम्मेदवारका घोषणापत्रमा पटकपटक बाँदर आतङ्क नियन्त्रण गर्ने कार्ययोजना समेटिए पनि अहिलेसम्म कसैले कार्यान्वयनमा ल्याउन सकेका छैनन् । यसका लागि प्रभावकारी कानुन नबन्दा समस्या भएकाले आगामी दिनमा कानुन निर्माण गरी अघि बढ्नुपर्ने उम्मेदवारको भनाइ छ । कांग्रेसका उम्मेदवार जोशीले पार्टीलाई रुपान्तरण गरेसँगै अब जिल्ला र समग्र मुलुकलाई रुपान्तरण गर्न आफू चुनावी मैदानमा आएको बताउनुभयो ।
आफूले पाँच दशक लामो राजनीतिक यात्रामा धेरै अनुभव हासिल गरेको बताउँदै उहाँले नयाँ पुस्ताको मागअनुसार अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ठूला र असम्भव, महत्वकाङ्क्षी योजना नभई जनताका आवश्यकता र चाहाना बमोजिमका काम गर्न आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ । एमालेका उम्मेदवार गिरीले आफूले अघिल्ला दुई कार्यकालमा जिल्लाको विकास निर्माणका लागि धेरै काम गरेको जनाउँदै केही काम पूरा गर्न बाँकी रहेकाले पुनः उम्मेदवारी दिएको बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शर्माले समग्र पर्वतको विकासका लागि योजनाबद्ध काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, स्वरोजगार, पूर्वाधार, औद्योगिकरणसँगै बाँदर नियन्त्रणलगायत योजनाको खाका आफूसँग रहेको उहाँको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका भुसालले अहिले मुलुकमा भइरहेको शासन व्यवस्थाको विकल्पमा नीति र विधि परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, मङ्गोल नेसनल पार्टी, आमजनता पार्टी, नेसनल रिपब्लिक नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलले पनि आफ्ना चुनावी गतिविधिलाई सुक्ष्म रूपमा सञ्चालन गरिरहेका जानकारी दिएका छन् । आगामी निर्वाचनमा यहाँबाट एक लाख २५ हजार ४६६ मतदाता रहेका छन् भने ७६ मतदानस्थल र १५१ मतदान केन्द्र कायम गरिएको छ ।