राँझा (बाँके), १ फागुन ।
तराईका ग्रामीण भेगमा देखिने गोरुगाडा अहिले देख्नै मुस्किल हुन थालेको छ । कृषिमा भित्रिएको आधुनिकीकरण र यातायातका साधनको सहज पहुँचले गर्दा यो परम्परागत साधन विस्थापित हुँदै गएको हो ।
एक दशक अघिसम्म खेतबाट उखु, धान र पराल बोक्न तथा हाटबजारमा अन्न पु¥याउन गोरुगाडाकै प्रयोग हुन्थ्यो । तर, अहिले त्यसको ठाउँ ट्र¥याक्टर, टेलर र हाते ट्र्याक्टर (पावर टिलर) ले लिएका छन् ।
ट्र्याक्टरले धेरै सामान छिटो र छरितो पु¥याउने भएपछि किसानहरूको आकर्षण गोरुगाडाबाट हट्दै गएको छ । “पहिले बिहेबारीमा जन्ती जान र टाढाका आफन्त भेट्नसमेत गोरुगाडाकै लस्कर लाग्ने गर्दथ्यो तर, अहिले ग्रामीण सडक कालोपत्र हुनु र मोटरसाइकल तथा अटो रिक्साको सङ्ख्या बढ्नुले गोरुगाडालाई ओझेलमा पारेको छ”,नेपालगञ्ज–१९ सुईयागाउँ निवासी ललवा माहुतले भन्नुभयो,“अहिले त घर घरमा ट्याक्टर र गाडी राख्न थालेपछि गोरुगाडा लोप भएर गए ।”
उहाँका अनुसार, गोरुगाडा हराउनुको अर्को मुख्य कारण गोरु पाल्ने किसानको सङ्ख्या घट्नु पनि हो । खेत जोत्नका लागि ट्याक्टरको प्रयोग बढ्न थालेपछि किसानले गोरु पाल्न छाडेका छन् । गोरु नै नभएपछि गाडा थन्किएका छन् भने कतिपय ठाउँमा गाडा बनाउने डकर्मी र सिकर्मीलेसमेत आफ्नो पेसा परिवर्तन गरिसकेका छन् ।
जतिबेला तराईमा मोटर गाडीको चलन आइसकेको थिएन, त्यो बेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन् । हरेक किसान र व्यापारीसँग घर घरमा गाडा हुन्थे । किसान खेतमा गोबर मल लैजान, पाकेको बाली भित्र्याउन यिनै गाडाको प्रयोग गर्ने गरेको राप्तीसोनारी गाउँपालिका–३ का स्थानीय अगुवा तुलसी थारुले बताउनुभयो ।
“यात्रा गर्दासमेत गोरुगाडा र राँगागाडाको प्रयोग हुन्थ्यो । पहिला–पहिला बिहेमा जन्ती लैजान र बेहुलाबेहुली बोक्नसमेत गोरुगाडाको प्रयोग गर्ने चलन थियो”,उहाँले भन्नुभयो,“अहिले गाउँमा कहीँकतै गोरुगाडा देखिने गरेपनि गाडा बनाउने कालीगढ पाइदैन ।”विशेष गरी गाउँमा काठे गोरुगाडाको प्रयोग हुने गरेको थियो । गोरुगाडालाई तान्न गोरु, राँगोसमेतलाई अप्ठ्यारो हुनुका साथै ढुवानी गर्दा कम सामग्री अट्ने, काठको अभाव लगायतका कारणले यसको प्रयोग घट्दै गएको उहाँको भनाइ छ ।
आधुनिकतासँगै मानिस सुविधाभोगी बन्दै व्यावसायिक हुन थालेपछि गोरुगाडा हराउँदै गएको राप्तीसोनारी–३ का वडाध्यक्ष मीनकुमार थारुले बताउनुभयो ।
विगतमा लामो तथा छोटो दुरीका यात्रामा गोरुगाडा कुदाएको स्मरण गर्दै उहाँले भन्नुभयो,“जमाना धेरै अगाडि बढिसक्यो, अहिले घर घरमा मोटरसाइकल, ट्याक्टर र अन्य आधुनिक गाडी आइसके । अहिले प्रविधिको विकासले चलन फेरिएको छ । गोरुगाडा वा राँगागाडा अब इतिहास भइसकेको छ ।” गोरुगाडा बनाउने काठसमेत सहजै उपलब्ध हुँदैन ।
जसका कारण दिनानुदिन इतिहास सम्झाउने पुरानो सवारीसाधन गोरुगाडा लोपहुँदै गएको छ, तर लोपोन्मुख अवस्थामा रहेको गोरुगाडाको अहिले संरक्षण हुन नसक्दा गाउँ घरमा त्यसै फालिएका छन् ।“अहिलेका केटाकेटीले त गोरुगाडा देख्नै पाउँदैनन् । हामीले यही गाडा चढेर कति मेला–बजार गयौँ, तर अब यो सबै सम्झनामा मात्र सीमित हुने भयो”, नेपालगञ्ज–१९ वसुदेवपुरका ७८ वर्षीय स्थानीय किसान हनिफ खानले दुःख व्यक्त गर्नुभयो ।
गोरुगाडा इन्धनमुक्त र वातावरणमैत्री साधन हराउँदै जानु दुखद् पक्ष हो । थारु समुदाय र मधेसी संस्कृतिसँग नजिकबाट जोडिएको यो साधन लोपहुँदा एउटा जीवन्त इतिहास र पहिचान पनि मेटिँदै गएकोमा वातावरण संरक्षणमा क्रियाशील नेपालगञ्जका तेजविक्रम शाह चिन्ता व्यक्त गर्नुहुन्छ ।
उहाँका अनुसार, अहिले केही पर्यटकीय क्षेत्र र होटलहरूले पर्यटकलाई मनोरञ्जन दिनका लागि मात्र साङ्केतिक रूपमा गोरुगाडा राख्ने गरेका छन् । तर, वास्तविक रूपमा सामान ओसार्ने यो पुरानो इञ्जिन अब गाउँका सडकबाट पूर्ण रूपमा बिदा हुने तरखरमा छ ।