ढोरपाटन (बागलुङ), ६ फागुन ।
एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ । यही फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो ।
एक वर्ष अघि सञ्चालनमा आउने भनिएको उक्त सवस्टेसनअन्तर्गत बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीयले टावर निर्माण र लाइन तान्न अवरोध गरेपछि ढिलाइ भएको हो । कपिलवस्तुको मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन निर्माण विसं २०७८ चैत १२ गते सुरु भएकामा अघिल्लो वर्ष असार ७ गतेदेखि सञ्चालन गर्ने योजना थियो ।
ठाउँठाउँमा काम गर्दा अवरोध आएपछि समयमा सञ्चालनमा ल्याउन नसकेको आयोजना प्रमुख मनोज चौधरीले बताउनुभयो । करिब डेढ वर्ष बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको उहाँको भनाइ छ । गत वर्ष असार ९ गते सर्वोच्चले रिट खारेज गरिदिएपछि तीव्रगतिमा काम गरेर सम्पन्न गरेको उहाँले बताउनुभयो ।
पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्नका लागि कपिलवस्तुको मोतिपुरबाट आयोजनाले अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सवस्टेसन विसं २०७८ देखि निर्माण सुरु भएको थियो । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सवस्टेसन निर्माण गरेर सञ्चालन गरिएको आयोजना प्रमुख चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले अघिल्लो वर्ष सञ्चालनमा ल्याउने गरी काम गरेका थियौँ तर, विभिन्न समस्याले गर्दा काम सम्पन्न हुन सकेको थिएन । फागुन २ गते काम सकिएलगत्तै परीक्षण गरेका थियौँ, अहिले नियमित रूपमा प्रसारणलाइन सञ्चालनमा आएको छ ।” कपिलवस्तुबाट बुर्तिबाङसम्म ८६ किलोमिटर दूरी रहेको छ ।
यहाँ ‘डबल सर्किट’को तार विस्तार गरिएको प्रमुख चौधरीले बताउनुभयो । उहाँका अनुसार रु चार अर्ब ७९ करोड लागतमा उक्त आयोजना सञ्चालनमा आएको हो ।