मध्यविन्दु (नवलपरासी), १३ फागुन ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती मृतावस्थामा फेलापरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार गुल्मी मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ आफ्नै कोठाभित्र चोटपटकसहित मृतावस्थामा फेलापरेकी हुन् ।
युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो । स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेलापरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।
“प्रारम्भिक अनुसन्धानका क्रममा शरीरका टाउको, घाँटी, दाहिने हातको नाडीमा धारिलो हतियारले काटेको चोट र अनुहारमा निलडाम रहेका छ”, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “घटनाको थप अनुसन्धानका लागि प्रदेशस्तरीय अनुसन्धान टोली तथा कुकुरसहितको विशेष टोलीसमेत परिचालन गरिएको छ ।” मृतक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ । उनी हाल एक्लै बस्दै आएकी थिइन् ।
उनी गत १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा नआएको खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।