काठमाडौँ, १८ फागुन।
नेपालको कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका पाका र अनुभवी राजीतिज्ञ सम्मिलित दलले यस निर्वाचनमा आफूलाई वैकल्पिक शक्तिका रुपमा प्रस्तुत गरेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले मुलुकका विद्यमान समस्या समाधान तथा आर्थिक समृद्धिको नारासहित मतदातालाई आफ्नो पक्षमा ल्याउन आकर्षक कार्यक्रम अघि सारेका छन् ।
राष्ट्रिय जननमोर्चाका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ चित्रबहादुर केसी रुपन्देही र नवलपरासीलगायत जिल्लामा मत माग्दै हिँड्नुभएको छ । “मैले भोगेको राजनीतिक जीवनमा मुलुक अहिले इतिहासकै ठूलो सङ्कटमा रहेको महसुस गरेको छु”, रासससँगको कुराकानीमा उहाँले भन्नुभयो ।
खर्चिलो सङ्घीय प्रणालीका कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेकाले त्यसमा सुधारको खाँचो रहेको सो पार्टीको घोषणापत्रमा उल्लेख छ । स्वतन्त्र अर्थनीति र विनासर्त वैदेशक सहायता लिन सकिने जनमोर्चाको दृष्टिकोण छ ।
राष्ट्रिय जनमोर्चा गिलास चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छ । सो पार्टीबाट ४२ जिल्लामा ७० जना प्रत्यक्ष उम्मेदवार र १०७ जना समानुपातिक बन्दसूचीमा छन् । यसअघिको निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित हुनुभएका केसी यसपटक भने समानुपातिक बन्दसूचीमा पहिलो नम्बरमा हुनुहुन्छ । सो पार्टीले बागलुङ निर्वाचन क्षेत्र नं १ मा बाहेक अन्य क्षेत्रमा चुनावी गठबन्धन गरेको छैन ।
नेता तथा कार्यकर्ता उत्साहका साथ जनताका बीचमा मत माग्न पुगिरहेका अध्यक्ष केसीले जानकारी दिनुभयो । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले राष्ट्रिय स्वाधीनता, स्थिरता र प्रणालीगत सुधारमा जोड दिँदै निर्वाचनमा होमिएको जनाएको छ । अध्यक्ष साहका अनुसार सो पार्टीले प्रत्यक्षतर्फ एक सयभन्दा बढी उम्मेदवारी दर्ता र समानुपातितर्फ ११० जनाको बन्दसूची पेस गरेको छ ।
निर्वाचन प्रचारप्रसार उत्साहजनक ढङ्गबाट अघि बढिहरेको जानकारी दिँदै अध्यक्ष साहले देशको अवस्था बदल्न आफूहरु लडिरहेको स्पष्ट पार्नुभयो । “जे बोल्छौँ त्यही गर्छौ, अहिलेसम्म गरेर देखाएका छौँ । अहिले प्रणालीको सुधार गर्नुपर्ने आवश्यकता छ, राष्ट्रियतालाई पहिलो एजेन्डा बनाएरका छौँ”, उहाँले भन्नुभयो, “वैदेशिक हस्तक्षेप अन्त्य, स्थिर सरकार, सुशासन कायम, अनावश्यक करको भार र भ्रष्टाचार हटाउने, अर्थतन्त्र बलियो बनाउने योजना अघि सारिएको छ ।”
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबका अनुसार सो पार्टीले प्रत्यक्षतर्फ ८७ जनालाई चुनावी प्रतिस्पर्धामा अगाडि सारेका छ । उक्त पार्टीले ९७ जना समानुपातिक बन्दसूची बुझाएको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले कार्यान्वयन योजनासहित घोषणापत्र ल्याएको दाबी गरेको छ । राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाधीनता, भूराजनीतिक जटिलता, समावेशिता, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेलगायत विषय घोषणापत्रमा समेटिएको छ । २५ वर्षभित्र देशलाई विकसितस्तरमा लैजाने, पाँच वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिलगायतको एजेन्डा रहेको छ ।
मुलुकको विद्यमान समस्याबाट निकास दिने नीति, नेतृत्व र कार्यक्रम प्रगतिशील पार्टीसँग मात्रै रहेको उहाँको भनाइ छ । “मतदाता विकल्पका खोजीमा छन्, विकल्प दिने प्रलोपा नै हो”, अध्यक्ष सोबले भन्नुभयो । निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् ।
प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।
यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजचार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
१४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् । निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् ।
आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।