काठमाडौं । नीतिगत सहुलियतले पनि घरजग्गा कारोबार तंग्रिन सकेको छैन । यो आर्थिक वर्षको सात महिनामा पनि यस क्षेत्रमा सुधार हुन नसकेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार कारोबार सुस्त देखिए पनि राजस्वमा भने १४ प्रतिशत सुधार देखिएको छ ।
घरजग्गा कारोबारको लिखत पारित भने गत आर्थिक वर्षको तुलनामा ०.२३ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । पछिल्लो दुई वर्षदेखि ओरालो लागेको घरजग्गा कारोबार अहिलेसम्म माथि जान सकेको छैन । यो चलायमान हुन नसक्दा मुलुकको अर्थतन्त्रमै प्रभाव परेको देखिन थालेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा ७ लाख ४५ हजार लिखत पारित भएको थियो । त्यसयता पछिल्ला दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षमा समेत सो संख्याको नजिकसमेत पुग्न सकेको छैन ।
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ लाख ७८ हजार २ सय ७८ लिखत पारित हुँदा २४ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको माघसम्म २ लाख ७८ हजार ९ सय २५ लिखत पारित भएको थियो । जसबाट २१ अर्ब ६५ करोड राजस्व संकलन भएको थियो ।
चालु आर्थिक वर्षको माघमा गत वर्षको तुलनामा ९.५३ प्रतिशतले लिखत पारित कारोबार घटेको देखिएको छ । गएको आर्थिक वर्षको माघमा ५० हजार ९ सय २१ लिखत पारित भएको थियो । तर चालु आर्थिक वर्षको माघमा ४६ हजार ६९ मात्रै लिखत पारित हुँदा राजस्व संकलनमा भने थोरै वृद्धि भएको देखिएको छ ।
गत आर्थिक वर्ष ०८०/८१ को माघमा ३ अर्ब ३७ करोड ५७ लाख राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको माघमा १४.७२ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड २५ लाख राजस्व संकलन भएको छ ।
घरजग्गा कारोबार र राजस्व संकलनमा पुसको तुलनामा माघमा घटेको छ । पुसमा ४८ हजार १ सय ५६ लिखत पारित भएको थियो भने राजस्व संकलन ४ अर्ब २५ करोड पुगेको थियो ।