शिवसताक्षी (झापा) ।
कुनै समय थियो । विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गर्न खोज्दा हाँसोको विषय बनिन्थ्यो । साथीभाइले खिसी ट्युरी गर्थे । शिक्षक स्वयम्ले बेवास्ता गर्थे । तर अब समय फेरिएको छ । नेपाल रेडक्रस सोसाइटीको मानवीय मूल्य र सेवाभावको मर्म बुझेपछि, विद्यार्थीहरू नै सक्रिय भएर आफ्नै विद्यालयमा रेडक्रस सर्कल गठन गरिरहेका छन् ।
शिवसताक्षी नगरपालिका वडा नं. ९ को ध्रुवतारा आवसिय माध्यमिक विद्यालय यतिबेला उदाहरण बनेको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा जुनियर रेडक्रस सर्कल औपचारिक रूपमा गठन भयो । अध्यक्षमा अंकित शिवा, उपाध्यक्षमा सिकुम लिम्बु, सचिवमा सोनिया राई, सहसचिवमा सिम्रन तावा र कोषाध्यक्षमा मानवी बिष्ट चयन भए । कार्यक्रममा शिवसताक्षी नगरका रेडकस उपशाखाका सभापति गोविन्द काफ्ले स्वयं सहभागी भए । उनले नवनिर्वाचित कार्यसमितिलाई रेडकसको झन्डा हस्तान्तरण गर्दै भने, ‘विद्यार्थीको जोश र संकल्प देख्दा भविष्यका मानवसेवक तयार भइरहेका छन् भन्ने संकेत मिलेको छ ।’ उनले यतिमात्र भनेनन् ‘नेपाल रेडक्रस उपशाखा शिवसताक्षी पूर्ण सहयोगको प्रतिबद्धता जनाउँछ ।’
शिक्षक नायक लक्ष्मण चवेगु र सहशिक्षिका सम्झना दाहाल चापागाईंलाई विशेष सम्मानसहित रेडक्रसको सर्ट र क्याप उनै सभापति काफ्लेले पहिर्याइदिदा विद्यार्थीले तालि बजाएर कार्यक्रमलाई गुन्जयमान बनाईदिए । विद्यालयमा गठन भएको समितिमा ११ सदस्यीय मूल समिति सँगै प्राथमिक उपचार उपसमिति, सरसफाई उपसमिति र अतिरिक्त क्रियाकलाप उपसमिति पनि गठन गरिएको छ । अब विद्यालय भित्र मात्र होइन । शिवसताक्षीका सामाजिक गतिविधिमा पनि यी विद्यार्थीको उपस्थिति बलियो देखिने सभापति काफ्लेको ठम्याई छ ।
शिवसताक्षीमा अहिले ६१ वटा विद्यालय छन् । तर धेरै विद्यालयमा अझै रेडक्रस सर्कल गठन भएको छैन । यद्यपि, चार वर्षदेखि रेडक्रस उपशाखा शिवसताक्षीले सञ्चालन गरेका कार्यक्रमहरूले विद्यार्थीलाई गहिरो प्रभाव पारेको प्रस्ट देखिन थालेको छ । अहिले विद्यार्थीहरू नै भन्छन् “हामीलाई चै रेडक्रस किन चाहिदैन । अवस्य चाहिन्छ ।’ नेपाल रेडक्रस सोसाइटीका ७ सिद्धान्तहरू— मानवतावाद, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वेच्छासेवा, एकता र सार्वभौमिकता बुझ्दा विद्यार्थीमा सेवा, नेतृत्व र सामाजिक चेतना बढेको दुधे स्थित राष्ट्रिय रमणीय आदर्श माद्यमिक विद्यालयका प्रधानाध्यापक गिरीराज शेर्मा बताउछन् । ‘हिजो हाँसोको विषय थियो । रेडक्रस आज गौरवको परिचय बनेको छ । सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र विराज लामगादे ले भने ।