झापा, जेठ १६ ।
पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालनलाई केन्द्रीत गर्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालले संयुक्त रूपमा एकदिने प्रशिक्षण कार्यक्रम काठमाडौँमा सम्पन्न गरेका छन्।
शुक्रबार सम्पन्न कार्यक्रममा नेप्सेमा सूचीकृत ९२ वटा कारोबार सदस्य ब्रोकर र डिलरका प्रमुख कार्यकारी अधिकृत तथा सूचना प्रविधिसम्बन्धी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गरे। उनले उद्घाटन मन्तव्यमा भने, “अर्थतन्त्रमा वित्तीय क्षेत्रमा हुने क्रियाकलापले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले वित्तीय बजारमा नियमन र सुपरिवेक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ। धितोपत्र बजारका लागि बनाइएका नियामकीय संरचना मात्र पर्याप्त हुँदैनन्, बजार सहभागिताको क्षमतावृद्धि गर्न यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्छ।”
कार्यक्रमका सभापति तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुणामणी चापागाईंले प्रविधि, सुशासन र अनुपालन हाल पुँजी बजारको सबैभन्दा महत्त्वपूर्ण विषय भएको भन्दै कार्यक्रमको उद्देश्यबारे बताए। उनले भने, “यही सन्दर्भलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको हो। सबै कारोबार सदस्यहरू यस कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। यसले लगानीकर्तालाई सहज, सुरक्षित र विश्वासिलो सेवा प्रवाह गर्न मद्दत पुर्याउनेछ।” सहआयोजक स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजी बजारमा देखिएका पछिल्ला सुधारात्मक पहलहरूको चर्चा गर्दै भने, “पुँजी बजार सुदृढीकरणका लागि सबै सम्बन्धित निकाय एउटै धारणा लिएर अघि बढ्नुपर्छ। नियामक, सञ्चालक र ब्रोकरबीच समन्वय आवश्यक छ।” नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले धितोपत्र बजारमा सम्पत्ति शुद्धिकरण निवारण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रण विषयक कार्यपत्र प्रस्तुत गरे। कार्यक्रममा अन्य विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरियो।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका उपप्रबन्धक योगराज जोशीले कारोबार राफसाफ तथा फर्स्योट, नेप्सेका सहायक आइटी प्रबन्धक निशा तिम्सिनाले नट्स सञ्चालन, सहायक आइटी प्रबन्धक निरञ्जन सिंह नायकले टिएमएस सञ्चालन, सहायक प्रबन्धक गिरिराज दाहालले दोस्रो बजारसम्बन्धी कानुनी व्यवस्था, नेप्से कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले दोस्रो बजार कारोबारको समग्र अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरे। कार्यक्रममा नेप्सेका प्रबन्धक लिलाधर सुवेदीले स्वागत मन्तव्य दिए भने वरिष्ठ अधिकृत सन्तोष आचार्यले सञ्चालन गरे।
कार्यक्रममार्फत पुँजी बजारका सबै पक्षलाई प्रविधिमैत्री, पारदर्शी र नियमसम्मत कारोबारतर्फ अघि बढाउने साझा प्रयास भएको आयोजकहरूले जनाएका छन्।