बिर्तामोड, असार ५।
झापामा नेपाली सेनाले विद्यालयस्तरको राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । सेनाको चारआलीस्थित अरिदमण गणको संयोजनमा सञ्चालन भएको यो तालिममा जिल्लाका पाँच संस्थागत र दुई सामुदायिक विद्यालयबाट २ सय १० जना विद्यार्थी सहभागी हुने भएका छन् ।
तालिम प्रारम्भको सन्दर्भमा शिवसताक्षी नगरपालिका–८ मा अवस्थित सेभेनसिज पब्लिक इङ्लिस बोर्डिङ स्कुलमा एक दिने अभिमुखीकरण गोष्ठी बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति थियो । गोष्ठीमा अरिदमण गणका सेनानी सुरेन्द्र योगीले एनसीसी तालिमको उद्देश्य, महत्व र यसले विद्यार्थीमा ल्याउने व्यवहारिक परिवर्तनबारे जानकारी गराएका थिए । उनले भने, ‘यो तालिमले राष्ट्रप्रेम, अनुशासन, नेतृत्व क्षमता र सामाजिक सेवाको भावना विकास गर्छ ।’ यस वर्षको तालिममा सहभागी विद्यालयहरूमध्ये सामुदायिकतर्फ दुई वटा मेचीनगरस्थित धुलाबारी मावि र शनिश्चरे माध्यमिक विद्यालय रहेका छन् ।
संस्थागत विद्यालयमा सेभेनसिज पब्लिक स्कुल (शिवसताक्षी), ईस्ट होराइजन इंग्लिस स्कुल (धुलाबारी), एराइबर ग्रिन बोर्डिङ स्कुल (बुद्ध शान्ति), झापा मोडल स्कुल (दमक) र टावर टेम्पल इंग्लिस स्कुल (बिर्तामोड) सहभागी छन् । प्रत्येक विद्यालयबाट १५ छात्र र १५ छात्रा गरी ३० गरेर झापामा कुल २ सय १० विद्यार्थी तालिममा सहभागी हुनेछन् । नेपाली सेनाका अनुसार तालिम दुई चरणमा विभाजित गरिएको छ । पहिलो चरणमा ७९ दिनसम्म सम्बन्धित विद्यालयमै शैक्षिक अभ्यास र शारीरिक तालीम दिइनेछ भने दोस्रो चरणमा मोरङको याङ्सिलास्थित राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा २१ दिनको क्लोज क्याम्प सञ्चालन गरिनेछ । विद्यार्थीहरूलाई खुकुरी ड्रिल, वक्तृत्वकला, चित्रकला, प्राथमिक उपचार, विपद् व्यवस्थापन, आपतकालीन उद्धार, स्वच्छता तथा वातावरणीय सरोकारका विषयमा तालिम दिइनेछ । साथै एरोबिक्स, तेक्वान्दो, आइकिडो, समूह निर्माणजस्ता अतिरिक्त गतिविधिहरू पनि हुने अरिदमण गणका सेनानी सुरेन्द्र योगीले बताए ।
याङ्सिलास्थित क्याम्पमा हुने प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समापन समारोहमा प्रमाणपत्रसहित सम्मान गरिनेछ । नेपाली सेनाका अनुसार उत्कृष्ट विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान कार्यक्रमअन्तर्गत विदेशी भ्रमणको अवसरसमेत प्रदान गरिनेछ । तालिमप्रति शिवसताक्षीका स्थानीय अभिभावकहरू सकारात्मक देखिएका छन् । अघिल्लो वर्ष यो तालिम झिलझिले माद्यमिक विद्यालयमा भएको थियो । सो माविले कोशी, मधेस र बागमती तीन प्रदेशका एनसीसी कार्यक्रम लागु विद्यालय मध्येको प्रतिस्पर्धामा सान्तना पुरस्कार प्राप्त गरेको थियो । स्थानिय अभिभावक राजन न्यौपानेले विद्यार्थीहरूलाई बाल्यकालदेखि नै अनुशासन, नेतृत्व र राष्ट्रसेवाको भावना दिन यस्तो तालिम प्रभावकारी हुने बताएका छन् । अर्की अभिभावक जुनु उप्रेतीले तालिमको बहुआयामिक पक्षको प्रशंसा गर्दै भनिन्, ’शारीरिक तन्दुरुस्तीदेखि आपतकालीन व्यवस्थापनसम्म सिकाइ हुने यो तालिमले हाम्रा छोराछोरीको समग्र विकासमा टेवा पु¥याउँछ ।’ सेभेनसिज पव्लिक स्कुलका प्रधानाध्यापक दीपक कडरियाले तालिमका कारण नियमित कक्षा प्रभावित नहुने जानकारी दिए । ’पठनपाठन नियमित राख्न विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्नेछ,’ उनले स्पष्ट पारे । सन् २०२२ देखि सञ्चालनमा आएको यो तालिम कार्यक्रम नेपाली सेनाले राष्ट्रसेवा, अनुशासन, सामाजिक उत्तरदायित्व तथा नेतृत्व विकासका लागि विद्यालय तहमै दीर्घकालीन प्रभाव पार्ने उद्देश्यले सुरु गरेको हो । माध्यमिक तहका कक्षा ८, ९ र १० का विद्यार्थीलाई यो तालिममा सहभागी गराइने गराइन्छ ।
नेपाली सेनाका अनुसार हालसम्म देशभर ८१ हजारभन्दा बढी विद्यार्थीले यो तालिम प्राप्त गरिसकेका छन्। नेपाली सेनाले मुलुकका ७७ वटै जिल्लामा वार्षिक झन्डै आठ हजार विद्यार्थीलाई एनसीसी तालिम उपलब्ध गराउँदै आएको छ। सेभेनसिज स्कुलमा तालिम सञ्चालनका लागि हुद्धा धनबहादुर भुजेल र प्युठ मिलन कार्की प्रशिक्षकका रूपमा खटिनेछन् भने विद्यालयले शिक्षक दुर्गा उप्रेतीलाई फोकल शिक्षकको रुपमा अनुबन्ध गरेको छ ।