काठमाडौं – प्रेम, विवाह र सम्बन्धविच्छेद (डिभोर्स) — यस्ता अनुभव केवल कलाकारको जीवनमा होइन, आम नागरिकको जीवनमा पनि देखिने सामान्य प्रक्रिया हुन्। तर, सम्बन्ध टुंगिएपछि कानुनीरूपमा अलग भइसकेका व्यक्ति सामाजिक सञ्जालमार्फत् एकअर्कामाथि आरोप-प्रत्यारोप गर्नु कति उपयुक्त हो भन्ने प्रश्न उठ्न थालेको छ।
यस्तै विवादमा परेकी छन् गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु। विगतमा आफूविरुद्ध सामाजिक सञ्जालमा भएका नकारात्मक टिप्पणी र आचरणका विरुद्ध कानुनी उपचारको अभियानमा सक्रिय रहिएकी चौहान अहिले आफ्नै पूर्वपतिको आरोपको जवाफमा प्रतिवादमा उत्रिएकी छन्।
विष्णुले शुक्रबार फेसबुकमार्फत् एलिनाविरुद्ध लक्षित गर्दै एक प्रेस नोट सार्वजनिक गरे, जसमा उनले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध फैलाइएको भ्रम र नकारात्मक टिप्पणीको विषयमा अष्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको र नेपालमा पनि प्रक्रिया सुरु गर्ने तयारीमा रहेको उल्लेख गरेका छन्।
यद्यपि, उनले कसविरुद्ध कानुनी उपचारको प्रक्रिया अघि बढाइएको भन्ने खुलाएका छैनन्। एलिनाले आफूले लगाएका सबै आरोप झूटा भएको विष्णुको भनाइ रह्यो।
यसको जवाफमा एलिनाले केही घण्टामै आफ्नो अनुहारमा चोट देखिने तस्बिरसहित लामो क्याप्सन लेख्दै सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिइन्। उनले विगतमा आफूले भोगेका समस्यामात्र सेयर गरेको दाबी गर्दै भनिन्,
"यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन, त्यो मानसिकतासँग हो, जसले सत्य बोल्ने महिलालाई नै दोषी बनाउँछ र पीडितलाई कठघरामा उभ्याउँछ।"
एलिनाले आफूमाथि प्रेम र वैवाहिक सम्बन्धका क्रममा शारीरिक हिंसा भएको गम्भीर आरोप लगाएकी छन्। उनले भनेकी छन्,
"अब म चुप लाग्दिनँ। यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो।"
एलिनाको भनाइ अनुसार उनी र विष्णुबीचको सम्बन्ध आपसी समझदारीमा टुंगिएको भए पनि सामाजिक दबाव, सामाजिक सञ्जालको दुरुपयोग र सतही धारणाले उनका व्यक्तिगत विषयहरू फेरि सतहमा ल्याइँदा गम्भीर अन्याय महसुस भएको हो।
उता, विष्णु पक्षबाट भने अहिलेसम्म थप प्रतिक्रिया आएको छैन। यसबारे कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्ने कुराले आगामी दिनमा थप स्पष्टता ल्याउनेछ।