काठमाडौँ, असार ३२ — संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदको विशेष समितिले छानबिन प्रक्रिया तीव्र बनाएको छ। समितिले संविधानविद् डा. काशिराज दाहाललाई विज्ञ सदस्यका रूपमा समावेश गर्दै अनुसन्धानको गति थप बढाएको हो।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकपछि संयोजक जीवन परियारले जानकारी गराउँदै अहिले सम्म समितिको १८ वटा बैठक सम्पन्न भइसकेको बताए। “आज १२ औं दिनको १८ औं बैठक हो, समिति गठन भएको आज १३ औं दिन हो,” परियारले भने, “अनुसन्धान कार्य जारी छ र धेरै कामहरु सम्पन्न भइसकेका छन्।”
बैठकमा आगामी छानबिनका चरण, विगतका गतिविधिहरूको समीक्षा र बाँकी कार्ययोजनाका विषयमा गम्भीर छलफल भएको थियो। समितिको निर्णयअनुसार संविधानविद् दाहाललाई आजको बैठकदेखि नै औपचारिक रूपमा विज्ञ सदस्यका रूपमा समावेश गरिएको हो।
त्यस्तै, महान्यायाधिवक्ताको कार्यालयसँग पत्राचार गरी एक जना सहन्यायाधिवक्ता र एक जना उपन्यायाधिवक्तालाई छानबिनमा सहयोग पुर्याउने गरी समितिमा निरन्तर उपस्थित गराउने निर्णय पनि बैठकले गरेको छ।
सरकारबाट संसदमा दर्ता गरिएको संघीय निजामती सेवा विधेयकमा उल्लेख गरिएको 'कुलिङ अफ पिरियड' अर्थात् विश्राम अवधि सम्बन्धी प्रावधानलाई लिएर संशोधनको क्रममा अनधिकृत परिवर्तन (तोडमोड) गरिएको आशंका उठेपछि प्रतिनिधिसभाले छानबिन गर्न विशेष समिति गठन गरेको हो।
समितिलाई गठन भएको मितिले २१ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। संयोजक परियारले समितिले समयमै प्रतिवेदन तयार पार्ने विश्वास व्यक्त गरेका छन्।