काठमाडौं, साउन ३ — माओवादी उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै, उहाँले प्रतिशोधको राजनीतिमा उत्रिएको र यसको अन्तिम निशाना कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणा देउवा भएको दाबी गरेका छन्।
शनिबार राजधानीमा आयोजित माओवादी पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले प्रधानमन्त्री ओलीले सत्ता प्रयोग गरी राजनीतिक विरोधीहरूलाई लक्ष्य गरेर मुद्दा लगाउने, पार्टीहरू फुटाउने र आफूमा गाभ्ने नियत देखिएको टिप्पणी गरे।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमार्फत शुरू भएको प्रतिशोधको सिलसिला अहिले कांग्रेस र अन्य दलसम्म फैलिएको बताए। “अब पालो आरजु राणाको हो भनेर कांग्रेस नेतृत्वलाई ओलीले धम्क्याइरहेका छन्,” पुनले भने।
उनका अनुसार ओलीको रणनीति ‘विरोधीलाई कमजोर बनाउन’ मुद्दा लगाउने, पार्टी विघटन गराउने र आफ्नै प्रभावमा ल्याउने रहेको छ। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर एमालेमा गाभ्ने षड्यन्त्र भइरहेको पुनले आरोप लगाए। उनले उपेन्द्र यादवको जसपा फुटाएर एउटा समूह ओलीको पक्षमा ल्याउने प्रयास पनि भइरहेको उल्लेख गरे।
भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिद प्रकरणमा मोहनबहादुर बस्नेतलाई जोडेर कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने प्रयास भइरहेको पुनको भनाइ थियो।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि सीआईबी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियारमार्फत फसाउने प्रयास भएको उल्लेख गर्दै पुनले भने, “ती निकायबाट केही नपाएपछि ओलीले शेरा दरबारको नाम जोडेर आरोप लगाउने प्रयास गर्नुभयो।”
पुनले ओली सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमा बितेको टिप्पणी गर्दै हालै एक मन्त्रीले घूस मागेको अडियो प्रकरणपछि राजीनामा दिनुपरेको र अर्का एक मन्त्रीको घूससम्बन्धी अडियो सार्वजनिक भएको उदाहरण प्रस्तुत गरे।
“सरकारले जनताको हितमा केही नगरेर बिचौलियालाई पोस्ने काम मात्र गर्यो,” उनले भने। पुनले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको एमालेभित्रको ‘सानो दक्षिणपन्थी, एकाधिकारवादी गिरोह’को विरुद्ध आफूहरू लडिरहेको पनि बताए।
उनले चेतावनी दिए, “ओलीजीले अरु पार्टीमा जसरी माओवादीमा तोडफोड गर्न सक्नुहुन्न। हामी डराएका छैनौं।”