काठमाडौं, – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र ०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्तिका लागि आयोजना गरेको प्रवेश परीक्षा शनिबार सम्पन्न भएको छ।
महानगर शिक्षा विभागका अनुसार देशभरबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोटमा परेका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले शनिबार बिहान ८ देखि १० बजेसम्म सञ्चालन भएको परीक्षामा सहभागिता जनाएका हुन्।
परीक्षा काठमाडौंका ५४ परीक्षा केन्द्रहरूमा एकसाथ सञ्चालन गरिएको थियो। कक्षा १० को पाठ्यक्रममा आधारित परीक्षा बहुवैकल्पिक ढाँचामा सञ्चालन गरिएको थियो, जसमा गणित, विज्ञान, अंग्रेजी र सामान्य ज्ञान गरी कुल १०० प्रश्न थिए। परीक्षामा नकारात्मक अंकन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक अनिवार्य गरिएको थियो।
परीक्षाको उत्तरपुस्तिका अप्टिकल मार्क रिकग्निसन (ओएमआर) प्रणालीद्वारा स्वचालित रूपमा जाँच भइरहेको छ। सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार उत्तरपुस्तिका स्क्यान तथा जाँचको काम सुरु भइसकेको छ र नतिजा आइतबार बिहान महानगरको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।
छात्रवृत्तिका लागि करिब ४ हजार सिट उपलब्ध गराइने महानगरले जनाएको छ। ती सिटहरूमा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४० प्रतिशत, संस्थागत विद्यालयमा पहिल्यै छात्रवृत्तिमा पढेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौं महानगरपालिका क्षेत्रका स्थायी बासिन्दालाई १४ प्रतिशत र ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीलाई १ प्रतिशत कोटा छुट्याइएको छ। साथै, महिला, दलित, आदिवासी–जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता भएका, पछौटे क्षेत्रका बासिन्दा तथा सहिद वा बेपत्ता परिवारका लागि विशेष आरक्षण कोटा व्यवस्था गरिएको छ।
नतिजा प्रकाशनपछि योग्यताक्रमको आधारमा विद्यार्थीहरूले भर्ना हुन रोजेका विषय र विद्यालयअनुसार प्राथमिकताका आधारमा पूर्वमनोनयन गरिनेछ। पूर्वमनोनयन भएका विद्यार्थीले तीन दिनभित्र तोकिएको विद्यालयमा भर्ना हुनुपर्नेछ। तोकिएको समयभित्र भर्ना नभएका सिटहरू रिक्त मानी दोस्रो चरणको सूची प्रकाशन गरिने छ। त्यसपछि पनि बाँकी रहेका सिटहरू ‘र्यापअप कोटा’मा योग्यताक्रमका आधारमा पुनः मनोनयन गरी भर्ना प्रक्रिया सम्पन्न गरिने महानगरले जानकारी दिएको छ।