काठमाडौं । अभिनेता पल शाह आफ्नो नयाँ चलचित्र ‘यानीमाया’ को निर्माण तयारीमा जुटेका छन्। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मोहर’ को प्रचारलाई केही समय थाँती राख्दै उनी सोमबार १२ दिनको लागि बागलुङ प्रस्थान गरेका हुन्।
मोहर को प्रचार प्रसारकै क्रममा उनी काठमाडौँमा व्यस्त रहँदा चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी भइरहेको थियो। तर, पल शाहको अनुपस्थितिमा तीन दिनपछि हुने भनिएको ट्रेलर रिलिज कार्यक्रम स्थगित गरिएको मोहर निर्माण पक्षले जानकारी दिएको छ। अब चलचित्रको ट्रेलर अनलाइनमै सार्वजनिक गरिनेछ भने औपचारिक कार्यक्रम नराख्ने निर्णय गरिएको छ।
यसैबीच, पल शाह चलचित्र ‘यानीमाया’ मार्फत निर्माणमा पनि डेब्यु गर्न लागेका छन्। कथावस्तु अत्यन्त मन परेपछि आफैं निर्माणमा हात हालेको उनले बताएका छन्। निर्देशकको रूपमा यस चलचित्रमार्फत विकास सुवेदीले पनि डेब्यु गर्दै छन्। सुवेदीले यसअघि प्रकाश र पुजार सार्की जस्ता चर्चित चलचित्रमा लेखकको भूमिका निर्वाह गरेका थिए।
१२ दिनको अभिनय कार्यशाला बागलुङमा
सुवेदीले आफ्नो निर्देशनमा बन्न लागेको ‘यानीमाया’ को अन्तिम अभिनय कार्यशाला बागलुङको ढोरपाटन नजिकैको गाउँमा संचालन गर्दै छन्। यस कार्यशालामा अभिनेता पल शाह र अभिनेत्री अञ्जना पुन सहभागी छन्। उनीहरूलाई कलाकार लोकेन्द्र लेखकले दुई सातासम्म अभिनय तालिम दिएका थिए। कार्यशालापछि टोली काठमाडौँ फर्किनेछ र त्यसपछि चलचित्रको छायांकन सुरु हुने बताइएको छ।
स्थानीय परिवेशमा आधारित प्रेमकथा
चलचित्र ‘यानीमाया’ एक सांगीतिक प्रेमकथा हो। यसमा पल शाहले ग्रामीण परिवेशमा बसोबास गर्ने एक युवाको भूमिका निर्वाह गर्नेछन्। कथामा आधुनिकता र परम्पराको टकराव, पुस्ता–पुस्ताबीचको मतभेद, र आफ्नो मौलिकतालाई जोगाउन संघर्षरत पात्रहरूको जीवन चित्रण गरिने निर्देशक सुवेदीले बताएका छन्।
चलचित्रको छायांकन भदौ सुरु भएसँगै सुरु गरिने योजना छ। थप कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।