काठमाडौँ, साउन १२ — नेपाली कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयकमाथि गम्भीर र दीर्घकालीन सोच राख्दै कानुन निर्माण गर्न जोड दिएका छन्।
सोमबार बसेको संघीय संसद अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै शर्माले विधेयकमा पर्याप्त छलफल आवश्यक भएको बताए। उनले भने, "बरु दुई दिन समय लगाएर भए पनि आगामी दिनमा गम्भीर प्रश्न उठ्न नसक्ने गरी कानुन बनाउनु पर्छ।"
शर्माले वर्तमान सरकारको नियतमाथि प्रश्न नरहे पनि भविष्यमा विधेयकको दुरूपयोग हुन सक्ने आशंका औंल्याए। उनले भने, “आगामी दिनमा वन क्षेत्रको आकार झनै घट्दै जान्छ, त्यसैले अहिलेको वन क्षेत्र जोगाउन कुनै किसिमको कमजोरी हुन दिनु हुँदैन।”
हालैको अतिवृष्टिका कारण सिर्जिएको विपद् सम्झाउँदै शर्माले भने, "अति वृष्टिको पीडा हामीले भोगिरहेका छौं। यस्तो अवस्थामा वन क्षेत्र जोगाउने विषयमा राजनीतिक दलहरूबीच साझा धारणा बनाउन आवश्यक छ।"
उनले विधेयकका केही व्यवस्थाहरूमा पुनर्विचार आवश्यक रहेको उल्लेख गर्दै भने, “एउटा प्रयोजनका लागि लिइएको जमिन अर्को प्रयोजनमा प्रयोग गर्न पाउने प्रावधान हटाइनु पर्छ।”
साथै शर्माले सरकारलाई प्रदेश र राजनीतिक दलहरूसँग गम्भीर संवाद गरी विधेयकमा सबैको चासो समेट्न आग्रह गरे।