काठमाडौं, साउन १३ – नेपालका १९ वामपन्थी तथा कम्युनिस्ट दल र संगठन्हरूले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नाममा 'पुष्पलाल मार्क्सवादी विश्वविद्यालय' स्थापना गर्न सहमति जनाएका छन्। पुष्पलालको जन्मशताब्दी तथा ४७ औँ स्मृति दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विचारगोष्ठीमा यो प्रस्ताव सार्वजनिकीकरण गरिएको हो।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले सबै वाम शक्तिहरूलाई यो ऐतिहासिक पहलमा एकजुट भई सहयोग गर्न आह्वान गरे। उनले सच्चा कम्युनिस्टहरू यो प्रस्तावबाट पछि हट्न नहुने बताए।
वयोवृद्ध नेता मोहनचन्द्र अधिकारीले सत्तामा पुगेका कतिपय 'कम्युनिस्ट'हरूको व्यवहार गैर–कम्युनिस्ट रहेको टिप्पणी गर्दै यस्ता विश्वविद्यालयबाट इमानदार कार्यकर्ता निर्माण हुने आशा व्यक्त गरे।
वामपन्थी बुद्धिजीवी हिरण्यलाल श्रेष्ठले पुष्पलालको जन्मस्थल रामेछापमा विश्वविद्यालय स्थापना गर्नुपर्ने सुझाव दिँदै काठमाडौँलगायत देशभरि मार्क्सवाद अध्ययनका कलेजहरू खोल्नुपर्ने धारणा राखे।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले वर्तमान सत्ता संरचनामा रहेका कथित कम्युनिस्टहरूकै भ्रष्टाचारका कारण यस्ता योजनाहरू विफल हुने खतरा रहेको औंल्याउँदै सबै इमानदार कम्युनिस्टहरूलाई प्रस्ताव सफल पार्न जुट्न आग्रह गरे।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका हेमन्तप्रकाश वलीले विश्वविद्यालय स्थापनाको प्रस्तावलाई ऐतिहासिक भन्दै जुनसुकै मूल्यमा पारित गराउने प्रतिबद्धता जनाए।
समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंहले दर्शन, सिद्धान्त र इमानदारीको अभावका कारण अवसरवादले ग्रस्त बनेका कम्युनिस्टहरूलाई यो विश्वविद्यालयले एक सूत्रमा बाँध्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्राडा. सुरेन्द्र केसी, गोपीरमण उपाध्याय, प्राडा. जगदीशचन्द्र भण्डारी, प्राडा. नन्दीश अधिकारी, प्राडा. रामप्रसाद ज्ञवाली, भूपाल राई, नारदमणि हार्तुमछाली, लोककृष्ण भट्टराई, मुकुन्द आचार्य, भक्ति लामिछाने, मोहनबहादुर केसी, विनोद थापा लगायतका विशिष्ट व्यक्तिहरूले विश्वविद्यालय स्थापनाको औचित्य, सम्भावना र चुनौतीबारे धारणा राखे।
कार्यक्रममा विश्वविद्यालयका प्रस्तावक अशोक सुवेदीले अवधारणापत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान, पुष्पलाल जन्मशताब्दी समारोह समिति, कृष्णलाल बलिदान शताब्दी समारोह समिति, तथा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको सहकार्य रहेको थियो।