काठमाडौँ, साउन १६ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले तराई–मधेस क्षेत्रमा चर्किएको पानी अभावको समाधानका लागि पोखरी निर्माण र भारतद्वारा सम्भावित पानी तानिएको आशङ्कामा ‘जासुसी’ अध्ययनको प्रस्ताव अघि सारेका छन्।
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै उनले प्रत्येक पाँच किलोमिटरको दूरीमा पोखरी निर्माण गरिनुपर्ने धारणा राखे। गौतमले भने, "ठोरीको नहरमार्फत आठ जिल्लामा पानी रिचार्ज गर्न सकिन्छ। त्यसका लागि २५–३० हजार कामदार खटाउन सके दुई–तीन महिनामै परिणाम देखाउन सकिन्छ।"
उनका अनुसार राजमार्गको दक्षिणतर्फ पोखरी निर्माण गरी पानी संकलन गरिनुपर्नेछ। “पानी जम्मा गर्न सकिने ठाउँहरूमा पोखरी निर्माण गर्दै जानुपर्छ,” उनले भने। पूर्वी, मध्य र पश्चिम तराई हुँदै पहाडसम्म पानी व्यवस्थापन गर्न सकिने पनि उनले बताए।
गौतमले चुरे क्षेत्रमा पानीको समस्या रहेको उल्लेख गर्दै, त्यहाँको भूगर्भीय संरचनाले पानी जम्मा हुन नदिने बताए। तराई भूभागमा देखिएको पानी संकटका लागि उनले भारततर्फ औँला ठाडो गरे।
“मलाई शंका लागेको छ—भारतले नेपालको सीमावर्ती १०/२० किलोमिटर क्षेत्रको पानी तानेको हुनसक्छ। त्यसको अध्ययन जासुसी तरिकाले गर्नुपर्छ,” गौतमको भनाइ थियो। भारतमा पनि पानीको अभाव गहिरिएको र समाधानका उपाय खोजिँदै आएको अवस्थामा यस्ता सम्भावनालाई नकार्न नहुने उनले तर्क गरे।
गौतमले उठाएको उक्त प्रस्तावले नेपालको जलस्रोत व्यवस्थापन, सीमावर्ती क्षेत्रको अध्ययन र अन्तरदेशीय पानी नीति पुनरावलोकनको आवश्यकता झल्काएको छ।