काठमाडौँ,साउन — महालक्ष्मी विकास बैंक लिमिटेड र भारतको अग्रणी बैंक एचडीएफसी बैंकबीच सीमापार वित्तीय सेवाको पहुँच विस्तार गर्न सम्झौता भएको छ। यस सम्झौताले भारतबाट नेपालमा सहज, सुरक्षित र सिधा भुक्तानी सेवा उपलब्ध गराउनेछ।
सम्झौताअनुसार, महालक्ष्मी विकास बैंकले भारतबाट सिधै नेपालमा रकम पठाउन सकिने भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको हो। यस्तो प्रणाली सञ्चालन गर्ने महालक्ष्मी पहिलो विकास बैंक बनेको छ। दुवै बैंकले आवश्यक प्राविधिक तथा प्रक्रियागत तयारी गरी परीक्षण कारोबार समेत सम्पन्न गरिसकेका छन्।
यस संयन्त्रमार्फत अब कुनै पनि व्यक्ति वा संस्थाले भारतको एचडीएफसी बैंकबाट महालक्ष्मी विकास बैंकमा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन्। यसमा नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (NEFT), रियल टाईम ग्रस सेटलमेन्ट (RTGS), तथा फण्ड ट्रान्सफर जस्ता इलेक्ट्रोनिक माध्यम प्रयोग गर्न सकिनेछ।
त्यस्तै, भारतका अन्य बैंकहरूबाट जारी भएका चेकहरू जम्मा गरेर पनि महालक्ष्मी बैंकको खातामा रकम पठाउन सकिने व्यवस्था गरिएको छ।
यस सम्झौतासँगै महालक्ष्मी विकास बैंकलाई एचडीएफसी बैंकको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवा—CMS चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा प्रत्यक्ष पहुँच प्राप्त भएको छ, जसले बैंकका ग्राहकलाई अझ सरल, छरितो र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
बैंकका अनुसार, यो पहलले भारतमा रहेका नेपाली कामदार, व्यवसायी तथा विद्यार्थीहरूलाई रकम पठाउन थप सहजता पुर्याउनेछ।