काठमाडौं, साउन –राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गर्दै भदौ २८ र २९ गते पूरक (मौका) परीक्षा सञ्चालन गर्ने जनाएको छ।
सोमबार (साउन १९) सार्वजनिक नतिजाअनुसार यस वर्षको ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशतमा करिब ९ प्रतिशतले वृद्धि भएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार नियमिततर्फ ६१.१७ प्रतिशत र आंशिकतर्फ ३६.४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
यस वर्ष नियमिततर्फ तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये दुई लाख ४२ हजार ४६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी हुँदा ४१ हजार ८४० जना उत्तीर्ण भएका छन्।
अध्यक्ष शर्माका अनुसार सबै विषयमा ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या दुई लाख ८४ हजार ३०५ रहेको छ। परीक्षा नतिजामा उल्लेख्य सुधार भए पनि अझै पनि थुप्रै विद्यार्थीले ‘नन्ग्रेड’ पाएका छन्।
बोर्डले उनीहरूका लागि भदौ २८ र २९ गते मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। एक वा दुई विषयमा ग्रेड नपाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित भएका विद्यार्थीले मात्र पूरक परीक्षा दिन पाउनेछन्।
यद्यपि, यस वर्षको परीक्षा तालिका शिक्षक आन्दोलनका कारण १० दिन ढिला भएर वैशाख ११ का सट्टा वैशाख २१ गतेबाट सुरु भएको थियो। परीक्षा जेठ २ गतेसम्म चलेको थियो।
परीक्षा ढिलो सुरु भए पनि बोर्डले पोहोरको तुलनामा नतिजा एक दिन मात्रै ढिलो गरी सार्वजनिक गरेको हो।
बोर्डले पूरक परीक्षाको फारम भर्ने मिति र थप विवरण चाँडै सार्वजनिक गरिने जनाएको छ।