काठमाडौं, २१ साउन २०८२-देशका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका पदका लागि २४ जना उम्मेदवार सर्टलिष्टमा परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा रहेको उपकुलपति सिफारिस समितिले मंगलबार ५४ जना आवेदकहरूमध्येबाट २४ जनाको नाम सर्टलिष्ट गरेको हो।
सिफारिस समितिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य एक प्रतिष्ठानका लागि छुट्टाछुट्टै गरी ६/६ जनाको सर्टलिष्ट सार्वजनिक गरेको छ।
सर्टलिष्टमा परेका उम्मेदवारहरूले अब व्यवसायिक कार्ययोजना प्रस्तुत गर्ने र अन्तर्वार्तामा सहभागी हुने छन्। त्यसपछि समितिले प्रत्येक प्रतिष्ठानका लागि तीन जनाको नाम सिफारिस गर्दै प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीलाई पेश गर्नेछ। ओलीले तीमध्ये एक जनालाई उपकुलपति नियुक्त गर्ने छन्।
गत चैत्रदेखि नै उपकुलपति पद रिक्त रहेको विपी कोइराला, पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सिफारिस प्रक्रिया अघि बढाइएको हो।
मन्त्री पौडेलको संयोजकत्वमा जेठ दोस्रो सातामा गठित सर्च कमिटीमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा सदस्य रहेका छन्।
समितिले गठन भएको झन्डै तीन हप्तापछि मात्र असार ४ गते आवेदन आह्वान गर्दै उपकुलपति छनोट प्रक्रिया सुरु गरेको थियो। असार १० गतेसम्म आवेदन दिने म्याद तोकिएकोमा चारवटै प्रतिष्ठानका लागि ५५ जनाले आवेदन दिएका थिए।
आवेदन सकिएको एक महिनाभन्दा बढी समयपछि बल्ल सिफारिस समितिले सर्टलिष्ट सार्वजनिक गरेको हो।