दैलेख, साउन २२ –दैलेखको भैरवी गाउँपालिकामा कक्षा १२ को परीक्षामा कुल विद्यार्थी संख्याको मात्र 31 प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गाउँपालिकाभित्र रहेका तीन वटा माध्यमिक विद्यालयका नतिजा विश्लेषण गर्दा कुल उत्तीर्ण दर निकै न्यून देखिएको हो।
श्री आदर्श माध्यमिक विद्यालय, भैरवी–६ खम्बागाडेका प्रधानाध्यापक खगेन्द्र बहादुर शाहीका अनुसार विद्यालयबाट परीक्षा दिएका ४५ जना विद्यार्थीमध्ये ८ जना मात्रै उत्तीर्ण भएका छन्। ३३ जनाले ग्रेड वृद्धि (पूरक) परीक्षा दिन पाउने छन् भने ४ जना पूरकमा सहभागी हुन अयोग्य ठहरिएका छन्।
श्री हिमालय माध्यमिक विद्यालय, भैरवी–५ डाँडीमाडीका प्रधानाध्यापक माधव उपाध्यायका अनुसार १०० जना परीक्षार्थीमध्ये ४५ जना उत्तीर्ण भएका छन्। ५० जना पूरक परीक्षा दिन पाउनेछन् भने ५ जनाले कुनै अवसर पाउने छैनन्।

श्री पञ्चदेवल माध्यमि विद्यालय, भैरवी–२ रावतकोटका प्रधानाध्यापक बालबहादुर विश्वकर्माका अनुसार ५७ जनाबाट परीक्षा दिएकामध्ये १० जना मात्र उत्तीर्ण भएका छन्। ४३ जनाले पूरक परीक्षा दिन पाउने भएका छन् भने बाँकीले अवसर गुमाएका छन्।
तीन विद्यालयको समग्र विश्लेषण गर्दा उत्तीर्ण दर जम्मा २९ प्रतिशतमा सीमित भएको हो। अधिकांश अनुत्तीर्ण विद्यार्थीलाई अङ्ग्रेजी विषयमा समस्या देखिएको बताइएको छ।
पछिल्ला वर्षमा भैरवी गाउँपालिकाभित्रको शैक्षिक गुणस्तरमा गिरावट आएको भन्दै स्थानीय बुद्धिजीवी तथा सरोकारवाला निकायहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विद्यालय, शिक्षक, अभिभावक र सरकारबीच सहकार्य आवश्यक छ।
भैरवी गाउँपालिकाले पनि आगामी दिनमा शिक्षामा थप लगानी ग
र्दै सुधारका कार्यक्रम ल्याउने तयारी गरेको जनाएको छ। स्थानीय जनप्रतिनिधिहरूले विद्यालयको भौतिक पूर्वाधार, जनशक्ति र शैक्षिक वातावरण सुधारमा ध्यान केन्द्रित गरिने बताएका छन्।