काठमाडौं, साउन २२ —
अखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू उजागर गर्दै तिनको समाधानका उपाय सुझाउने उद्देश्यले आयोजना गरेको ‘शैक्षिक संवाद’ कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख अतिथि रुपमा सहभागी भएका थिए।
कार्यक्रममा अध्यक्ष प्रचण्डले वर्तमान शिक्षा प्रणालीको संरचना, गुणस्तर, पहुँच र समावेशीतासम्बन्धी विभिन्न चुनौतीहरूबारे टिप्पणी गर्दै व्यापक सुधारको आवश्यकता औंल्याए। उनले शिक्षालाई केवल पाठ्यक्रम केन्द्रित नभई समग्र मानव विकाससँग जोडिएको जीवनपयोगी बनाउनु पर्नेमा जोड दिए।
“शिक्षा परिवर्तनको मेरुदण्ड हो, यसलाई जनताको आवश्यकता र देशको भावी सम्भावनासँग जोड्नुपर्छ,” प्रचण्डले भने।
शैक्षिक संवाद कार्यक्रममा विद्यार्थी संगठन, शिक्षा क्षेत्रका विज्ञ, प्राध्यापक, शिक्षक संघ तथा नीतिनिर्माण तहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सहभागीहरूले निजीकरण, व्यापारीकरण, पाठ्यक्रमको अद्यावधिक अभाव, शिक्षामा अवसरको असमानता लगायतका विषयमा धारणा राख्दै समाधानका लागि राज्यको गम्भीर ध्यानाकर्षण गराएका थिए।
अखिल (क्रान्तिकारी)का अध्यक्ष सुदर्शन बुढाथोकीले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै शिक्षालाई जनमुखी, वैज्ञानिक र समावेशी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।