दैलेख, साउन २५ — नेपाल राहत शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिको निर्देशनअनुसार देशभरका ७५३ वटै स्थानीय तहमा आयोजना गरिएको विरोध सभा कार्यक्रम अन्तर्गत दैलेखको भैरवी गाउँपालिकामा पनि आज विरोध सभा सम्पन्न भएको छ।
शिवप्रकाश आचार्यको अध्यक्षतामा सम्पन्न विरोध सभामा केन्द्रीय स्तरदेखि स्थानीय तहसम्मका विभिन्न शिक्षक संगठनका प्रतिनिधिहरूको उपस्थितिमा आफ्ना माग मुद्दा सम्बोधन नगरेको भन्दै सरकारको विरोधमा आक्रोशपूर्ण मन्तव्य राखिएको थियो।
सभामा प्रमुख अतिथि राहत शिक्षक केन्द्रीय सह–अध्यक्ष देविराम आचार्य र विशेष अतिथि राहत शिक्षक जिल्ला अध्यक्ष कनक बहादुर शाहीले अस्थायी प्रकृतिका शिक्षक कर्मचारीको मागलाई शिक्षा ऐनको प्रारूपमा समावेश नगरिएकोप्रति गम्भीर आपत्ति जनाए।
कार्यक्रममा नेपाल शिक्षक संघ भैरवी अध्यक्ष माधव प्रसाद तिमिल्सिना, पेशागत महासंघ जिल्ला सदस्य वलिराम थापा, महासंघ भैरवी अध्यक्ष ललित प्रसाद सापकोटा, महासंघ जिल्ला सदस्य कर्ण के.सी, नेपाल शिक्षक संघ जिल्ला सह–सचिव चक्र गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश सदस्य डिल्लीराम आचार्य, एकीकृत अखिल नेपाल शिक्षक संगठन भैरवी अध्यक्ष चित्र रिजाल, र भैरवी गाउँपालिका शिक्षा समिति सदस्य तारा रिजाललगायतले विरोध सभामा समर्थन जनाउँदै मन्तव्य दिएका थिए।
वक्ताहरूले शिक्षा उप–समितिले हालै तयार पारेको शिक्षा ऐनको प्रारूपमा राहत शिक्षकको माग बेवास्ता गरिएको भन्दै कडा शब्दमा आलोचना गरेका थिए। उनीहरूले राहत शिक्षकको स्थायीत्व, सेवा सुरक्षालगायतका माग नसमेटिएसम्म चरणबद्ध संघर्ष जारी रहने चेतावनी पनि दिए।
“हामी आफ्ना हक अधिकार प्राप्त नगरेसम्म दबाबमूलक आन्दोलनलाई अझ सशक्त रूपमा अगाडि बढाउँछौं,” राहत शिक्षक नेताहरूको भनाइ थियो।
