काठमाडौं, साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अबदेखि अन्तर्राष्ट्रिय टर्मिनल भवनमार्फत ‘भिजिटर’ पास वितरण नगर्ने भएको छ। विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार भिजिटर पास वितरण स्थायी रूपमा बन्द गर्न लागिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जारी गरेको सूचनामा साउन २७ गते (मङ्गलबार) देखि लागू हुनेगरी उक्त सेवा बन्द गरिएको उल्लेख छ।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार, भिजिटर पास वितरणमा भनसुन, पहुँच र असमानता सम्बन्धी गुनासोहरू बढेपछि यस्तो निर्णय लिनुपरेको हो। "भिजिटर पास लिने प्रक्रियामा पारदर्शिता नहुँदा कतिपय व्यक्तिले नपाउने, कतिपयले पहुँचका आधारमा पाउने जस्ता गुनासोहरू आएपछि वितरण स्थगन गरिएको हो," उनले भने।
यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै विमानस्थल कार्यालयले वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका, गर्भवती र नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको जनाएको छ। ह्विलचेयर सेवा र विशेष आवश्यकताका यात्रुहरूका लागि सम्बन्धित वायुसेवा कम्पनीमार्फत आवश्यक सहजीकरण भइरहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए।
साथै, विमानस्थल प्रशासनले यात्रुहरूलाई हवाई टिकटमा उल्लेख गरिएका चेक–इन सामानको संख्या र अधिकतम तौलको सीमा पालना गर्न पनि अनुरोध गरेको छ।
विमानस्थल कार्यालयले भिजिटर पास सम्बन्धी नयाँ निर्णय सरोकारवाला सबै पक्षलाई जानकारी गराउँदै सहयोग र समझदारीका लागि आग्रह गरेको छ।