चितवन — अर्घाखाँचीका गणेश भुसालले “कलम छोडेर कोदालो उचाल्ने” निर्णय गरेको आज दुई दशक नाघिसक्यो। ५६ वर्षीय भुसाल भरतपुर–२५ दिव्यनगरमा १८ बिघा जग्गामा तरकारी खेती गर्दै वार्षिक करिब दुई करोड रुपैयाँको कारोबार गर्ने सफल किसानको रूपमा चिनिन्छन्।
भुसालको “अभियान बहुमुखी कृषि फर्म” उच्च लगानीबाट उच्च नाफा लिने मोडलमा आधारित छ। वर्षमा दुई करोड बराबरको तरकारी बिक्री गर्ने भुसाल भन्छन्, “किसान अर्बपति त हुँदैन, नाम पनि हुँदैन, तर हामी उत्पादन गरेको तरकारी प्रधानमन्त्रीदेखि राष्ट्रपति खानुहुन्छ, त्यही गर्व हो।”
सरकारी अनुदान लिने मन छैन
कृषि क्षेत्रमा सरकारी अनुदानका लागि लाइन लाग्ने प्रवृत्तिबाट टाढा रहेका भुसालले अहिलेसम्म एक रुपैयाँ पनि अनुदान लिएका छैनन्। “एक लाख अनुदान लिन ६ महिना दौडिनु पर्दछ, बरु त्यही समय खेतमा खर्च गरे पाँच लाख धरतीबाटै निकालिन्छ,” उनी भन्छन्। उनका अनुसार अनुदानको सट्टा सरकारले उन्नत बीउ, मल, सिंचाइ, बजार सहजता, प्राविधिक सहयोगमा ध्यान दिनु जरुरी छ।
वकिल र पत्रकार हुँदै किसान
कानुनमा स्नातक गरेका भुसाल करिब ६ महिना अर्घाखाँचीमा वकालत पेशामा रहे। पेशाको चरित्रले मन नपरेपछि २०५१ सालमा पत्रकारितातर्फ मोडिए। २०५८ सम्म पत्रकारिता गरे पनि आर्थिक अभावले पेशा छाड्नुपर्यो। माओवादी द्वन्द्वको दबाबबीच कृषि रोज्दै २०६२ सालतिर चितवन आएर खेती सुरू गरे।
पहिलो तीन वर्ष घाटा खेप्दै चौथो वर्षबाट नाफा कमाउन थाले। आज उनका फार्ममा झन्डै ४० स्थायी र २० मौसमी कामदार छन्। मासिक ४ लाख तलब र ६ लाख भाडा तिर्दै पनि वार्षिक ५० लाखसम्म नाफा कमाउने उनी सफल छन्।
बजार र बिचौलिया
भुसालका अनुसार तरकारी बजारमा पाँच तहका बिचौलिया छन्, जसले किसानभन्दा बढी नाफा खान्छन्। उनी भन्छन्, “अब ठूला किसानले व्यापारीलाई ‘माल दिन्न’ भन्न सक्ने स्थिति बन्दै छ।” सरकारले बिल अनिवार्य र अनुगमन गर्नुपर्ने उनको सुझाव छ।
अबको लक्ष्य फलफूल खेती
तरकारी खेतीको जिम्मा छोरालाई दिँदै उनी अब बहुवर्षीय फलफूल—केरा, किवी, मेवा, ड्रयागन फ्रुट—तर्फ मोडिने तयारीमा छन्। हालै पाँच कठ्ठामा मेवा ट्रायल लगाइसकेका छन्। “उमेर बढ्दै जाँदा थोरै मेहनतमा बढी नाफा दिने खेती रोज्ने हो,” भुसाल भन्छन्।
पदकबाट सम्मान
कृषि क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनलाई ‘जनसेवा श्री पाँचौं’ पदक प्रदान गरेको छ। भुसाल भन्छन्, “सरकारको सम्मानले अझै कृषि कर्ममा लाग्ने हौसला मिलेको छ।”
गणेश भुसालको कथा मेहनत, धैर्यता र आत्मनिर्भर उद्यमशीलताको उदाहरण बनेको छ—जहाँ विदेश जानु आवश्यक छैन, बरु धरतीमै पसिना बगाएर भविष्य बनाउन सकिन्छ भन्ने सन्देश छ।

