काठमाडौँ, भदौ १।ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत नेपालको बेष्ट बैंक अवार्ड प्राप्त गर्दै थप एक अन्तर्राष्ट्रिय सफलता हासिल गरेको छ। यो अवार्ड युरो मनी म्यागजिन द्वारा सन् १९९२ देखि बैंकिङ्ग क्षेत्रमा उच्च प्रदर्शन गर्ने संस्थाहरूलाई प्रदान गरिँदै आएको हो।
ग्लोबल आइएमई बैंकलाई यो अवार्ड प्रदान गर्नका लागि बैंकले पछिल्लो समय ग्राहक सेवा सुधार, वित्तीय सुदृढता, सामाजिक उत्तरदायित्व, नवीन प्रविधिको प्रयोग, तथा सुशासनमा गरेको लगानीलाई मूल्यांकन गरिएको बताइएको छ।
बैंकले यसअघि पनि सन् २०२२ र २०२४ मा युरो मनीको बेष्ट बैंक अवार्ड प्राप्त गरिसकेको छ। यस वर्षको अवार्डले बैंकलाई तेस्रो पटक यो गौरव प्राप्त गराएको हो।
ग्लोबल आइएमई बैंक यसअघि पनि ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४ र २०२५, साथै युरो मनी अवार्ड अन्तर्गत दुई विधामा नेपालकै उत्कृष्ट बैंकको रुपमा सम्मानित भइसकेको छ।
हाल बैंकले ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गरेको छ। देशभर ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, र ३ वटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ।
रेमिट्यान्स सेवाको हकमा पनि बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत देशहरूबाट विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ।
ग्लोबल आइएमई बैंकले नेपालमा निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकको रूपमा आफूलाई पुनः प्रमाणित गर्दै अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली बैंकिङ्ग क्षेत्रको पहिचान उजागर गर्न सफल भएको छ।