झापा, भदौ १९ — झापाको मेचीनगर नगरपालिका–१५ मा पर्ने ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी गाउँहरू दशकौँदेखि राज्यको पहुँचबाट टाढा छन्। मेची नदी पारिको भू–भागमा पर्ने भएकाले यी गाउँहरूलाई स्थानीयले “मेची पारिको नेपाल” भनेर चिनाउने गरेका छन्।
लगभग १ सय ५० बढी नेपाली बासिन्दा रहेका यी गाउँमा दैनिक जीवनयापनका लागि आवश्यक अधिकांश सेवा तथा वस्तुका लागि स्थानीयले भारतको बजारमा निर्भर रहनुपरेको छ। शिक्षादेखि उपचारसम्मका लागि समेत यहाँका बालबालिका र नागरिकलाई भारतीय भूभाग धाउनु बाध्यता बनेको छ।
कक्षा २ सम्म मात्र पढाइ, बाँकी शिक्षा भारतमै
राज्यको उपेक्षामा परेका यी गाउँमा अहिले कक्षा २ सम्म पढाइ हुने “मेची आधारभूत विद्यालय” मात्र सञ्चालनमा छ। त्यही विद्यालयमा राष्ट्रिय झण्डा फहराइन्छ र राष्ट्रिय गान गुन्जिन्छ, तर शिक्षाको अवस्था दयनीय छ।
बर्खायाममा नदीको सतह बढेपछि वारि तर्फबाट शिक्षक आउन नसक्दा अहिले विद्यालयको पठनपाठन ठप्प छ। गाउँका विद्यार्थी जोखिम मोलेर नदी तरेर अरनिको माध्यमिक विद्यालयसम्म पढ्न जाने गरेका छन्।
विद्युत् पुगे पनि ट्रान्सफर्मर नहुँदा उज्यालो छैन
नेपाल सरकारले केही समयअघि मात्र गाउँसम्म विद्युत् प्रशारण लाइन तानेको हो। तर ट्रान्सफर्मरको अभावले गर्दा स्थानीय बासिन्दा अझै टुकीको उज्यालोमा भर पर्न बाध्य छन्।
ग्वालबस्ती टोल विकास संस्थाका अध्यक्ष अमुल यादवका अनुसार, “कतिपयसँग नागरिकता छैन, धेरैको जग्गाको धनीपुर्जा छैन। हामी दशगजाको नेपाली पिलर छुने ठाउँमा बसेका छौं, तर नेपाल सरकारले माया गरेको छैन।”
दशकौंको माग : मेची नदीमा झोलुङ्गे पुल
मेची पारिका बासिन्दाको मुख्य माग मेची नदीमा झोलुङ्गे पुल निर्माण हो। पुल भएमा वारिपारिको आवतजावत सहज हुने र भारतमा निर्भरता कम हुने अपेक्षा उनीहरूको छ।
झापा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी केही दिनअघि राफ्टिङ बोटमार्फत मेची पारिका गाउँ पुगेका थिए। उनले स्थानीयको माग सुनेर बिजुली ट्रान्सफर्मर उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए भने झोलुङ्गे पुलको माग सरकारसम्म पुर्याउन सुझाव दिएका थिए।
४ महिनाको वर्षा याममा नेपालसँग सम्पर्क टुट्ने
बर्खामा नदीमा पानीको सतह बढ्ने भएकाले तीन महिना सम्म वारिसँग सम्पर्क विच्छेद हुने गरेको छ। हिउँदमा डेढ किलोमिटर बगर हिँडेर आवतजावत गरिन्छ, बर्खामा त्यो समेत सम्भव हुँदैन।
स्थानीय वडासदस्य वृक्षलाल राजवंशीका अनुसार, “जब प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू गाउँ आए, त्यतिबेला बल्ल नेपाल सरकार यहाँ आएको अनुभूति भयो।”
राजनीतिक आश्वासन मात्रै, काम शून्य
स्थानीयहरूका अनुसार हरेक चुनावमा उम्मेदवारले झोलुङ्गे पुल बनाइदिने आश्वासन दिने गरेका छन्, तर निर्वाचनपछि कुनै अनुहार नदेखिने गुनासो पनि उत्तिकै छ।
“हामीसँग सधैं भोट माग्न आउँछन्, चुनाव जितेपछि सम्झँदैनन्,” अध्यक्ष यादव भन्छन्।
भारतको प्रभाव र सिमाना सुरक्षामा चुनौती
अत्यधिक निर्भरता र राज्यको उपेक्षा कारण यहाँ भारतीय सुरक्षाकर्मी समेत सहजै पस्ने गरेका छन्। विद्यालयका भित्तामा भारतीय चुनावको प्रचार सामग्री टाँसिएको पाइन्छ।
विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलिया भन्छन्, “भारतको चुनाव हुँदा यहाँ भारतकै भूभाग जस्तो देखिन्छ। राज्यको उपस्थिति छैन, माया छैन। झोलुङ्गे पुलले मात्र होइन, राष्ट्रिय अनुभूति दिने हो भने सेवा र सुरक्षाको ग्यारेन्टी चाहिन्छ।”
बजेट आए पनि निर्माण अलपत्र
संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा पुलको विस्तृत परियोजना प्रतिवेदन (DPR) बनाउने उद्देश्यले रु ५ लाख विनियोजन गरेको छ।
मेचीनगर नगर प्रमुख गोपाल बुढाथोकी भन्छन्, “हामी पटक–पटक प्रदेश र संघलाई आग्रह गर्दै आएका छौं। नगरको स्रोतले यो पुल बनाउन सक्दैन। डिपिआर बनेपछि मात्रै अगाडि बढ्न सकिनेछ।”
निष्कर्ष
राज्यको बेवास्ता, सुविधाको अभाव, र भारतीय निर्भरताले गर्दा मेची पारिको नेपाल भूगोलले त नेपाली भए पनि भावनाले बिरानो बन्दै गएको छ। झोलुङ्गे पुल निर्माण यहाँको जीवनको साँध र सन्देश बन्न सक्ने स्थानीयको अपेक्षा छ।