पृष्ठभूमि
नेकपा (एमाले) नेपाली जनताको विश्वास जित्न सफल, देशकै लोकप्रिय पार्टीका रूपमा स्थापित भएको छ। वर्तमानमा सरकारको नेतृत्व गरिरहेको पार्टीले आगामी २५ वर्षको मार्गनिर्देशन तय गर्ने उद्देश्यका साथ भदौ २०–२२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्य विधान महाधिवेशन आयोजना गर्दैछ। यस महाधिवेशनले केवल पार्टीकै भविष्य तय गर्ने होइन, “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय कार्यभारलाई कसरी मूर्त रूप दिन सकिन्छ भन्ने विषयमा समेत ऐतिहासिक निर्णय गर्नेछ। अल्पकालीन र दीर्घकालीन नीतिहरू निर्माण गर्दै महाधिवेशनले नेपाली समाजलाई प्रगतिशील रूपान्तरणतर्फ अग्रसर गर्ने दिशानिर्देश दिने अपेक्षा गरिएको छ।
सदस्यता र सांगठनिक संरचना
एमाले संगठनात्मक दृष्टिले एसियाकै ठूला पार्टीमध्ये एक हो। यसको सांगठनिक सिद्धान्त जनवादी केन्द्रीयतामा आधारित छ, जसले कार्यकर्ताहरूलाई आलोचना–आत्मआलोचना, अनुशासन, जवाफदेहिता र पारदर्शितामा अभ्यस्त बनाउँछ। पार्टीको नेतृत्व बरुखाको जराजस्तै बलियो भएर जमिनसँग जोडिनुपर्ने हुन्छ, जसले जनतासँग निरन्तर सम्पर्क र विश्वास कायम राख्न सकोस्। मदन भण्डारीले भनेझैं, सच्चा कम्युनिष्ट नेता भनेको जनताको सपना आफ्नै सपना ठान्ने हो। त्यसैले सदस्यता केवल नामका लागि होइन, जिम्मेवारीसहितको प्रक्रिया मार्फत प्राप्त हुनुपर्ने बाध्यकारी व्यवस्था महाधिवेशनले सुनिश्चित गर्नुपर्छ। विशेषगरी युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने र प्रत्येक तहमा जनआधारित कमिटी निर्माण गर्ने कार्य पार्टीको मुख्य चुनौती र आवश्यकता बनेको छ।
नीति र कार्यक्रमको तालमेल
पार्टीको प्रमुख कार्यक्रम “समृद्ध नेपाल, सुखी नेपाली” हो। यसलाई व्यवहारमा उतार्न रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, औद्योगिक विकास, शिक्षा र स्वास्थ्यमा सुधार, र उद्यमशीलताको विकास अनिवार्य हुन्छ। घोषणापत्रमा समावेश कार्यक्रमहरू केवल कागजमै सीमित नभई कार्यान्वयन गर्ने स्पष्ट रणनीति आवश्यक छ। यसका लागि पार्टी कमिटी र जनसंगठनहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेछ। स्वावलम्बी अर्थतन्त्र, सामाजिक समानता र राष्ट्रिय स्वाधीनताको सुनिश्चिततामा जोड दिँदै महाधिवेशनले
“मिशन ८४”
लाई केवल चुनावी एजेण्डा होइन, समाजवादतर्फको ऐतिहासिक यात्रा बनाउनुपर्नेछ।
वैचारिक स्पष्टता
कम्युनिष्ट आन्दोलनको मेरुदण्ड वैचारिक स्पष्टता हो। यसको अभावमा संगठन भीडमा सीमित हुन्छ, आन्दोलन क्षणिक रहन्छ, र नेतृत्व अवसरवादी बन्छ। लेनिनले भनेझैं, क्रान्तिकारी आन्दोलन बिना क्रान्तिकारी सिद्धान्त सम्भव हुँदैन। विचार केवल पुस्तकमा होइन, जनजीवनमा परीक्षण हुनुपर्छ भन्ने माओको दृष्टिकोणले अझ व्यावहारिक स्पष्टता दिन्छ। यही आधारमा मदन भण्डारीले माक्र्सवादलाई नेपालीकरण गर्ने प्रस्ताव राखेका थिए। आज वैचारिक स्पष्टताको अर्थ राष्ट्रिय पुँजीको विकास, उत्पादन र उद्यमशीलता प्रवर्द्धन, तथा रोजगारी सिर्जनासँग प्रत्यक्ष जोडिनुपर्छ। पार्टीले कार्यकर्ताको मूल्याङ्कन गर्दा उनीहरूले समाजवाद निर्माणमा कति योगदान गरे भन्ने आधारलाई मापदण्ड बनाउनुपर्नेछ। युवामा बढ्दो निराशा हटाउँदै स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास जागृत गर्ने वैचारिक अभियान अहिले अपरिहार्य छ।
राजनीतिक कार्यक्रम
राजनीतिक कार्यक्रम आन्दोलनलाई सही बाटो देखाउने कम्पास हो। यसले दीर्घकालीन लक्ष्य, रणनीति र तत्कालीन आवश्यकता सम्बोधन गर्ने योजना प्रस्तुत गर्छ। हाम्रो पार्टीले मूल कार्यक्रमलाई समाजवाद स्थापना, रणनीतिक कार्यक्रमलाई जनताको बहुदलीय जनवाद, र तात्कालिक कार्यक्रमलाई रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, तथा भ्रष्टाचार नियन्त्रणसँग जोडेको छ। विश्व क्रान्तिकारी अनुभवहरू– जस्तै माक्र्स–एंगेल्सको कम्युनिष्ट घोषणापत्र, लेनिनको “शान्ति, भूमी, रोटी” र माओको “नौलो जनवादी क्रान्ति”– सबैले स्पष्ट र जनजीवनसँग जोडिएका कार्यक्रम प्रस्तुत गरेर सफलता हासिल गरेका छन्। नेपालमा पनि २००७ सालको प्रजातन्त्र आन्दोलनदेखि २०६२/६३ को जनआन्दोलनसम्मका हरेक राजनीतिक परिवर्तन स्पष्ट कार्यक्रमकै आधारमा सफल भएका थिए। त्यसैले अबको कार्यक्रमिक नारा “दलाल पुँजीको अन्त्य, राष्ट्रिय पुँजीको निर्माण र समाजवादको स्थापना” हुनुपर्छ।
समाजवादी अर्थतन्त्र निर्माण
समाजवादतर्फको यात्रा अघि बढाउन पार्टीले प्राकृतिक स्रोतको राष्ट्रिय स्वामित्व कायम गर्न, कृषि आधुनिकीकरणमार्फत आत्मनिर्भरता स्थापना गर्न, उद्योग र जलविद्युतमा लगानी बढाउन, युवालाई रोजगारी सिर्जना गर्न, र सामाजिक सुरक्षा योजनालाई व्यवस्थित बनाउनुपर्नेछ। लैंगिक समानता, महिला सशक्तीकरण, सुशासन र भ्रष्टाचारविरुद्ध कठोर अभियान, कानुनी शासनको मजबुती, र स्थानीय सरकारलाई प्रभावकारी बनाउने दिशा महाधिवेशनले तय गर्नुपर्नेछ। सूचना प्रविधि, ऊर्जा, सडक र पर्यटनलाई उत्पादनमुखी अर्थतन्त्रसँग जोडेर युवालाई स्वदेशमै अवसर दिने कार्यक्रम “युवा उद्यम कोष” र “एक घर–एक सीप” अभियानमार्फत अघि बढाउन सकिन्छ।
चुनौती र समाधान
एमाले नेपालकै पुरानो र लोकप्रिय कम्युनिष्ट पार्टी भए पनि संगठनभित्र गुटबन्दी, नेतृत्वकेन्द्रित बहस, वैदेशिक हस्तक्षेप र जनसंगठनको कमजोरीजस्ता चुनौतीहरू विद्यमान छन्। यी समस्याले जनतामाझ पार्टीको विश्वास कमजोर बनाइरहेका छन्। समाधानका लागि वैचारिक स्पष्टतामा आधारित निरन्तर प्रशिक्षण, संगठनात्मक सुदृढीकरण, आधारभूत तहसम्म कमिटीलाई सक्रिय बनाउने, र युवादेखि महिला, किसान, मजदुरसम्मलाई जनसंगठनमार्फत जोड्ने आवश्यक छ। “मिशन ८४” सफल बनाउन पार्टीले स्थानीय तह सुदृढीकरण, रोजगारी, शिक्षा, स्वास्थ्य र भ्रष्टाचारविरुद्ध ठोस अभियान सञ्चालन गर्नुपर्छ। साथै, विश्व कम्युनिष्ट आन्दोलन र प्रविधीमैत्री राजनीतिक अभ्यास अध्ययन गर्ने बृहत पार्टी स्कुल स्थापना गरेर संगठनलाई नवीन सोचसहित सुदृढ बनाइनुपर्छ।
प्रचार कार्यको महत्व
आजको युगमा प्रचार केवल नारामा सीमित हुन सक्दैन। प्रचार जनतासँग प्रत्यक्ष संवाद गर्ने, भ्रम चिर्ने, वैचारिक स्पष्टता कायम गर्ने, र संगठनलाई दीर्घकालीन रूपमा मजबुत बनाउने रणनीतिक कार्य हो। सामाजिक सञ्जाल, तथ्याधारित सामग्री, प्रत्यक्ष संवाद, र बौद्धिक बहसमार्फत प्रचारलाई वैज्ञानिक र योजनाबद्ध बनाउनुपर्नेछ। प्रचार जीवन्त अनुभव, प्रमाण र व्यवहारिक विकल्प प्रस्तुत गर्ने माध्यम बन्न सके मात्र पार्टीलाई जिम्मेवार, अग्रगामी र दूरदर्शी शक्तिका रूपमा उभ्याउन सकिन्छ।
निष्कर्ष
नेकपा (एमाले)को आसन्न विधान महाधिवेशन केवल एक संगठनात्मक सम्मेलन मात्र होइन, नेपालको समाज, राजनीति र अर्थतन्त्रलाई समाजवादतर्फ डोऱ्याउने ऐतिहासिक मोड बन्नुपर्छ। वैचारिक स्पष्टता, संगठनात्मक सुदृढता, व्यवहारिक राजनीतिक कार्यक्रम र समाजवादी अर्थतन्त्र निर्माणको ठोस खाका सहितको यो महाधिवेशनले पार्टीलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई पनि नयाँ दिशातर्फ अगाडि बढाउनेछ।
लेखक राष्ट्रिय युवा संघ नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष हुन् ।