काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि घरमै भएको हातपात तथा लुटपाटलाई "जघन्य अपराध" को संज्ञा दिएका छन्। लोकतान्त्रिक आन्दोलनमा देउवाको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले यस्तो व्यवहारको कडा निन्दा गरे।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले "न दाजुको न भाइको कांग्रेस, कांग्रेसजनको" भन्ने नाराका साथ पार्टीलाई अघि बढाउन आह्वान गरे। उनले पार्टीभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्ने आवश्यकतामा जोड दिँदै आगामी दशैंपछि देशव्यापी बहस र छलफल अभियान सुरु गर्ने घोषणा गरे।
“हामी जनताको केन्द्रमा बस्ने अभियानमा लागौं,” कोइरालाले भने, “पार्टी 'न दाजुको न भाइको कांग्रेस, कांग्रेसजनको' भनेर अघि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः हाम्रो काँधमा आउँछ।”
'जेनजी आन्दोलन'को नाममा भएको हिंसाको भर्त्सना
कोइरालाले पछिल्लो समय देशमा चलेको "जेनजी आन्दोलन" सन्दर्भमा पनि धारणा राखे। उनले आन्दोलनको उत्पत्ति सकारात्मक भए पनि, त्यसको नाममा सार्वजनिक सम्पत्तिमा आगजनी, लुटपाट, र व्यक्तिगत दुर्व्यवहारलाई कुनै हालतमा समाज परिवर्तन भन्न नसकिने टिप्पणी गरे।
“भाद्र २४ गतेको घटनामा भएको सार्वजनिक सम्पतिको लुटपाट, आगजनी र व्यक्तिविरुद्ध गरिएको पासविक व्यवहार २१औँ शताब्दीको सभ्य समाजमा किमार्थ स्वीकार्य छैन,” उनले भने।
उनले राजनीतिक अस्थिरताबीच पनि नयाँ सरकारले जनताको भरोसा जितेर अघि बढ्नेमा आफू आशावादी रहेको बताए। यद्यपि, उनले आन्दोलनको चुरो भावनालाई बेवास्ता गर्न नहुने र कांग्रेसले त्यसबाट सिक्नुपर्ने आवश्यकता औंल्याए।
कांग्रेसको आत्मसमिक्षा र पुनर्गठनको आवश्यकता
कोइरालाले कांग्रेस विगतका रणनीतिक भूलबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताए। उनका अनुसार, हिमाल, पहाड, तराई–मधेसका कार्यकर्ताले लोकतान्त्रिक समाजवादको ज्योति निभ्न नदिएको कुरा कांग्रेसको प्रेरणा हो। उनले कांग्रेसका पुराना नेताहरू — बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै ती नेताहरूको पदचिन्हमा हिँड्नुपर्ने आवश्यकता दोहोर्याए।
“हामीसँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय छैन,” उनले स्पष्ट शब्दमा भने, “हामी चुक्यौं, त्यसको प्रायश्चित गर्न तयार छौं।”
'युवाको चाहना कांग्रेसले सम्बोधन गर्नुपर्छ'
कोइरालाले अहिलेको राजनीतिक परिवर्तन र युवाको आकांक्षालाई कांग्रेसले सम्बोधन गर्नुपर्ने बताए। जनताले कांग्रेसलाई परिवर्तनको माध्यम देखोस् भन्ने अपेक्षा राख्दै, उनले पार्टीभित्र व्यापक सुधारको खाँचो औंल्याए।
“समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुनेछौं,” उनले प्रतिबद्धता जनाए।
अन्त्यमा, उनले कांग्रेस नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने अभियानमा सबै कार्यकर्तालाई सक्रिय भुमिकामा उत्रन आह्वान गरे। दशैंपछि देशभर बहस र छलफल थाल्ने योजना सुनाउँदै, कोइरालाले कांग्रेसलाई नयाँ युगमा प्रवेश गराउने संकल्प व्यक्त गरे।