काठमाडौं, भदौ – आन्दोलन र राजनीतिक अस्थिरताका कारण बन्द रहेको सेयर बजार आउँदो असोज १ गते (बुधबार) देखि पुनः सञ्चालनमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सेयर कारोबार खोल्न पत्राचार गरेको छ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणी चापागाईंले सेयर कारोबार पुनः सुरु गर्न आवश्यक तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार, "बुधबारदेखि सेयर कारोबार सञ्चालनमा ल्याउने निर्णयअनुसार बोर्डमा औपचारिक पत्र पठाइएको छ।"
कानुनी प्रावधानअनुसार बन्द गरिएको थियो कारोबार
धितोपत्र ऐन, २०६३ को दफा ९० को उपदफा (१) खण्ड (घ) अनुसार नेपाल धितोपत्र बोर्डबाट भदौ २७ गते स्वीकृति प्राप्त गरी भदौ २९ देखि असोज २ गतेसम्म सेयर बजार बन्द रहने सूचना जारी गरिएको थियो।
देशभर फैलिएको युवापुस्ताको आन्दोलन, सार्वजनिक सम्पत्तिमा तोडफोड र राजनीतिक नेतृत्वमा आएको परिवर्तनसँगै बजारको स्थायित्व प्रभावित भएको थियो। तर, नयाँ सरकार गठनपछि अवस्था सामान्य हुँदै गएपछि कारोबार सुचारु गर्न नेप्सेले तयारी अघि बढाएको हो।
लगानीकर्तामा उत्साह
बजार खोलिने संकेतसँगै लगानीकर्ताहरूमा पुनः आशा जागेको छ। बजार बन्द हुँदा ठूलो संख्यामा लगानीकर्ताले पूँजी जाम भएको गुनासो गरेका थिए। अब कारोबार खुल्ने भएपछि सानो तर स्थिर सुधारको अपेक्षा गरिएको छ।
सेयर बजार विश्लेषकहरूका अनुसार, राजनीतिक स्थायित्वसहित स्पष्ट नीतिगत सन्देश आउन थालेमा बजारमा सकारात्मक प्रभाव पर्न सक्छ।