नेपाल–चीन व्यापार विस्तारको नयाँ ढोका खुलेको छ। मुस्ताङको कोराला नाका दुई वर्षपछि औपचारिक रूपमा व्यापारिक प्रयोजनका लागि सञ्चालनमा आएपछि गण्डकी र लुम्बिनी प्रदेशका व्यवसायी उत्साहित भएका छन्।
तातोपानी र रसुवा नाका बाढी तथा सडक मर्मतको कारण अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले वैकल्पिक मार्गका रूपमा कोराला नाकाको प्रयोग गर्न थालेका हुन्।
व्यापार विस्तारको नयाँ सम्भावना
नेपाल उद्योग वाणिज्य महासङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठका अनुसार, कोराला नाका सञ्चालनले कालीगण्डकी कोरिडोरसँग जोडिँदै धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ सम्भावना सिर्जना भएको छ।
“बेनी, जोमसोम हुँदै कोरालासम्म करिब तीन सय कन्टेनर पुगिसकेका छन्, र थप एक हजार पाँच सय कन्टेनर दसैँको सामान लिन तयार छन्,” श्रेष्ठले जानकारी दिए। “सामान ढुवानी लागत पनि कम भएकाले हामी गण्डकी र लुम्बिनी प्रदेशका व्यवसायीहरू उत्साहित भएका छौँ।”
कोराला नाकाको पूर्वाधार विकास
समुद्री सतहबाट करिब ४,७०० मिटर उचाइमा रहेको कोराला नाकामा प्रदेश सरकारले बनाएको भवनमा पूर्वाधार, विद्युत् र इन्टरनेट सुविधा जडान गरेर भन्सार सञ्चालन गरिएको छ।
भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार, रसुवा र तातोपानी नाका बन्द भएपछि व्यापारीहरूले चीनबाट ल्याउने तयारी सामान कोराला नाकाबाट डाइभर्ट गरेका हुन्।
“हालसम्म चीनबाट एक सय ५१ वटा विद्युतीय गाडी आयात भएका छन्,” खड्काले बताए, “त्यस्तै, नेपालबाट मूर्ति, कपडा र बाँसका मुढा चीन निर्यात भएका छन्।”
दसैँका लागि सक्रियता
दसैँ नजिकिँदै गर्दा चीनबाट कपडाजन्य सामग्री बोकेका ५५ वटा कन्टेनर कोराला नाकामा आइपुगेका छन् भने थप कन्टेनरहरू आउँदै छन्।
यसअघि रसुवा नाका असार २४ मा बाढी र पहिरोका कारण बन्द भएको थियो। यस्तै, सिन्धुपाल्चोकको कोदारीमा सडक मर्मतको ढिलाइले तातोपानी नाका पनि झन्डै ४६ दिनदेखि ठप्प छ।
यी दुई नाकाबाट सामान आयात गर्न सकस भएपछि कोराला नाका सञ्चालनले उद्योगी–व्यवसायीहरूलाई सहज भएको र आगामी दिनमा यो नाका वैकल्पिक मात्र नभई प्रमुख व्यापारिक केन्द्रको रूपमा विकास हुने अपेक्षा गरिएको छ।