२ असोज, काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन कुमार आचार्यले हालैको जेनजी आन्दोलनका क्रममा देखिएका अराजक गतिविधिमा पार्टीको संलग्नता प्रमाणित भए त्यसमा संलग्न व्यक्तिहरूले पार्टी त्याग्नुपर्ने स्पष्ट सन्देश दिएका छन्। उनले घटनासँग सम्बन्धितहरूलाई अनुसन्धानमा पूर्ण सहयोग गर्न पनि आह्वान गरेका छन्।
नख्खु कारागार नजिक रास्वपा सभापति रवि लामिछानेको रिहाइपछि भएको आगजनी र तोडफोडमा पार्टी नेता वा समर्थक संलग्न रहेको प्रमाणित भए सरकारलाई कानुनअनुसार कारबाही गर्न आग्रह गर्दै आचार्यले भने, “म वा मभन्दा माथिल्लो वा तल्लो तहका कसैले संलग्नता देखाए पनि छानबिन र कारबाहीको दायरामा आउनुपर्छ।”
उनले विभिन्न भिडियो र फोटोहरू आफूले प्राप्त गरेको उल्लेख गर्दै ती सामग्रीहरू पार्टी अनुशासन आयोगलाई पठाइसकेको जानकारी दिए। साथै, सामाजिक सञ्जालमा पार्टीका विभिन्न तहका नेताहरूको उग्र अभिव्यक्तिप्रति असहमति जनाउँदै उनले भने, “त्यस्तो उग्रताप्रति पार्टीको कुनै समर्थन छैन। रास्वपा शान्ति र अहिंसाको राजनीति गर्ने पार्टी हो।”
जेनजी आन्दोलनलाई सुरु देखिनै शान्तिपूर्ण रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै उनले अन्यायको अनुभूति गर्ने युवाहरूसँग एकता र सहकार्य आवश्यक रहेको बताए।
भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा भएको सरकारी दमनपछि उत्पन्न असन्तोषलाई अराजकतामा परिणत गर्न खोजिएको भन्दै उनले त्यसप्रति पार्टीको असहमति दोहोर्याए। “कुनै पनि तह वा तप्काबाट उग्र गतिविधि हुने हो भने त्यसको समर्थन गर्न सकिँदैन,” उनले स्पष्ट पारे।
आचार्यले पार्टीविरुद्ध मिथ्या सूचना र अफवाह फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति पनि सतर्क रहन सबैलाई आग्रह गरेका छन्। रास्वपाको मूल मर्म अहिंसात्मक र लोकतान्त्रिक राजनीति भएको भन्दै उनले जेनजी आन्दोलनलाई जिम्मेवार ढंगले अघि बढाउन जोड दिएका छन्।