काठमाडौँ ।धितोपत्र बजारमा लगातार नकारात्मक सर्किट लागेपछि बिहीबारको लागि शेयर कारोबार पूर्ण रूपमा स्थगित गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अनुसार बिहीबार कारोबार शुरू भएलगत्तै बजार तीव्र ओरालो लाग्न थाल्यो। बजार खुलेको जम्मा दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि पहिलो सर्किट लागेको थियो। त्यसपछि बजारलाई २० मिनेटका लागि बन्द गरिएको थियो।
२० मिनेटपछि पुनः ११:२३ मा कारोबार खुला गरिए पनि परिसूचक थप घट्दै गएको देखिएको छ। दोस्रो चरणमा परिसूचक ५ प्रतिशतले ओरालो लागेपछि पुनः ४० मिनेटका लागि कारोबार रोकिन पुग्यो।
तेस्रोपटक १२:०४ बजे बजार खुला गर्दा परिसूचक ६ प्रतिशतले घट्न पुग्यो। यससँगै बजारले तेस्रो सर्किट हानेपछि बाँकी दिनका लागि कारोबार स्थगित गरिएको हो।
नेप्सेका अनुसार कुल परिसूचक १६०.३३ अंकले घट्दै २,५११.९१ मा झरेको छ। सीमित समयमै कुल ७२ करोड ८७ लाख २ हजार ८३० रुपैयाँ बराबरको कारोबार भएको जनाएको छ।
भदौ २३ र २४ गते विषम परिस्थिति स्वरूप बन्द भएको बजार बिहीबार मात्रै खुला गरिएको थियो। तर बजार खुलेको पहिलो दिनमै तीन पटक सर्किट लागेर पूर्ण रूपमा कारोबार स्थगित हुनुले लगानीकर्तामा थप अन्योल र त्रास उत्पन्न भएको देखिन्छ।
विश्लेषकको भनाइमा, बजारमा पछिल्लो समय देखिएको राजनीतिक तथा आर्थिक अनिश्चितता, ब्याजदरको अवस्था र लगानीकर्ताको मनोविज्ञानले यस्तो गिरावट ल्याएको हुन सक्छ।