काठमाण्डौं। जेनजी आन्दोलनका क्रममा तोडफोड भई क्षति पुगेको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगन तथा मर्मतसम्भारको काम सुरु गरिएको छ। मन्त्रालय भवनको बाहिरी भागदेखि आन्तरिक संरचना सम्मका भित्ताहरूमा नयाँ रङ लगाउने काम धमाधम भइरहेको छ।
गत वर्षको जेनजी आन्दोलनका क्रममा आक्रोशित प्रदर्शनकारीले सिंहदरबार कम्पाउन्डभित्र प्रवेश गरी विभिन्न मन्त्रालयमा तोडफोड गरेका थिए, जसमा अर्थ मन्त्रालय सबैभन्दा बढी प्रभावित भएको थियो। भित्ताहरूमा विरोधका नाराहरू लेखिएका थिए भने केही ठाउँमा सिसा, पर्खाल तथा फर्निचरहरूमा समेत क्षति पुगेको थियो।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, “आन्दोलनपछिको अवस्थालाई व्यवस्थित गर्न र सामान्य प्रशासनिक कामकाज सहज बनाउने उद्देश्यले रंगरोगन र मर्मतको काम थालिएको हो।”
सरकारले यस मर्मतकार्यका लागि झण्डै ८० लाख रुपैयाँ बजेट छुट्याएको छ। निर्माण व्यवसायी संघमार्फत टेण्डर प्रक्रियाबाट ठेक्का दिइएको यो काम आगामी एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
सिंहदरबार प्रवेश गर्ने सर्वसाधारण तथा कर्मचारीहरूले नयाँ रङ र सफा वातावरणका कारण मन्त्रालयमा पुनः ऊर्जा भरिएको महसुस गरिरहेका छन्।
यता, सामाजिक सञ्जालमा भने यस मर्मतलाई लिएर मिश्रित प्रतिक्रिया देखिएका छन्। केहीले आन्दोलनको सन्देश बिर्सिन खोजिएको आरोप लगाएका छन् भने केहीले सरकारी संयन्त्रले पुनःस्थापनाको काम चाँडो थाल्नु सकारात्मक भएको बताएका छन्।
रंगरोगन कार्य सम्पन्न भएपछि अर्थ मन्त्रालयमा सामान्य सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास लिइएको छ।