“न्याय दिलाउनु हाम्रो धर्म हो — यही शिक्षा म आमाबाट सिकेँ।”
मैले “एमाले” भन्ने शब्द पहिलो पटक आमाको अनुहारमा देखेँ। उहाँ मात्र पार्टीकी कार्यकर्ता होइन, एक समर्पित देशप्रेमी आमाको प्रतिरूप हुनुहुन्थ्यो। आमासँगै आठ दाजुभाइ दिदीबहिनीहरू सबै नेकपा (एमाले) मा संगठित हुनुहुन्छ। उनीहरूका लागि राजनीति पद र स्वार्थ होइन, जीवनको दर्शन हो — जसको जग नै बुबाको आदर्श र त्यागमा टेकेर बनेको थियो।
“एमाले मेरो लागि पार्टी होइन, जीवन दर्शन हो।”
म बालक थिएँ, जब मैले मेरी मामु — गङ्गा देवी धमला ढकाल लाई देखेँ। उहाँ समाजसेवामा समर्पित, मानवीय संवेदनाले ओतप्रोत एक दृढ महिला हुनुहुन्थ्यो। आफू भोकै रहेर पनि अरूलाई खान दिन सक्ने, पीडितको आँसु पुछिदिने उहाँको मानवीयता आज पनि मेरो स्मृतिमा जीवित छ। रातको अन्धकारमा पीडित आमाहरू आफ्ना बालबालिकासहित हाम्रो घरमा सहारा खोज्दै आउँथे। मामुले सधैं भन्नुहुन्थ्यो —
“नानी हो, न्याय दिलाउन सक्नु हाम्रो ठूलो धर्म हो।”
त्यही वाक्यहरूले मलाई राजनीतिभन्दा अघि मानवीयता सिकाए, र नेकपा (एमाले) प्रती मेरो आकर्षणको जरो त्यहीं गाडियो।
विचार र संगठनको शक्तिः एमालेप्रति मेरो दृष्टि
त्यसपछि मैले बुझ्न थालेँ — एमाले एउटा पार्टी मात्र होइन, एउटा विचार हो। त्यो विचार हो न्याय, समानता, श्रमको सम्मान र राष्ट्रिय स्वाभिमानको। जसले देशको प्रत्येक नागरिकलाई समान अवसर दिन खोज्छ। जो साँचो अर्थमा कम्युनिष्ट दर्शन बुझ्छ, ऊ कहिल्यै गलत हुनै सक्दैन।
तर व्यक्ति गल्ती गर्न सक्छ, पार्टी होइन। कुनै व्यक्तिको गल्तीका कारण सम्पूर्ण संगठन र हजारौं कार्यकर्ताको समर्पणमाथि प्रश्न उठाउनु विवेकको कमी हो। एमाले गलत थिएन, छैन, र हुने पनि छैन — यदि नेताले गलत कार्यकर्तालाई र कार्यकर्ताले गलत नेतालाई खबरदारी गर्न सके भने।
आज धेरै आलोचकहरू न त कम्युनिज्मको दर्शन बुझ्छन्, न त देशको राजनीतिक इतिहास। राजतन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्राको नजिकबाट अनुभव नगरी, पार्टीमाथि आक्रोश पोख्ने हुलका आवेगपूर्ण टिप्पणीहरूले राष्ट्रलाई कमजोर मात्र बनाउँछ।
सेप्टेम्बर ८/९ : साझा पीडा, साझा जिम्मेवारी

सेप्टेम्बर ८/९ को घटना हाम्रो साझा पीडा हो। त्यो दिन देशले आफ्नै सन्तान गुमायो। असंख्य आमाहरूको काख रित्तियो, अनि धरोहरजस्ता संरचनाहरू खरानी भए। यी क्षतिहरू पैसा वा राहतका चेकले कहिल्यै मेटाउन सक्दैनन्।
तर, ती सहिद सन्तानहरूको सपना पूरा गर्न राष्ट्र पुनर्निर्माणमा सबैले हातेमालो गरे भने, त्यो चोटमा मलम पक्कै लाग्नेछ। यो केवल राजनीतिक होइन, मानवीय दुर्घटना थियो। गोली चलाउने आदेश कसले दियो भन्ने निष्पक्ष छानबिन अनिवार्य छ। प्रधानमन्त्रीको दायित्व देशलाई नियन्त्रणमा ल्याउनु हो, न कि विभाजनमा धकेल्नु।
नेताले गल्ती स्वीकारेर अघि बढ्नु र कार्यकर्ताले सुधारका लागि आवाज उठाउनु — यही हो साँचो नेतृत्व र संगठनको जीवनी शक्ति। जब पार्टीभित्र आत्मसमीक्षा र सच्चिन सक्ने संस्कार विकास हुन्छ, तब त्यो पार्टी कहिल्यै कमजोर हुँदैन।
निष्कर्ष
एमालेको बल संगठनमा होइन, विचारमा छ — राष्ट्र पहिले, स्वार्थ पछि।
राजनीति पदको खेल होइन, राष्ट्र निर्माणको अभियान हो। हिजोका पीडादायी घटनाले हामीलाई चेतना दिन्छ — अब एकता, संयम र विवेकको समय आएको छ। अपराधमा संलग्न जोसुकै होस्, कानुनी दायरामा ल्याउन हामी सबै एकजुट हुनुपर्छ।
हाम्रा आमाहरूले देखाएको समर्पण, मामुले सिकाएको मानवता, र पार्टीले दिएको विचार — यही नै मेरो राजनीतिक संस्कार हो।
“नेपाललाई नेपाल बनाऔँ, भावनाले होइन विवेकले।”
Genz आन्दोलनमा ज्यान गुमाउने सबै आत्माहरू प्रति हार्दिक श्रद्धाञ्जली