नेपालको राजनीतिक भूमिमा हालैको जेएनजी आन्दोलन एक ऐतिहासिक मोडको रूपमा उदाएको छ। यो आन्दोलन केवल एक समूहको असन्तुष्टि मात्र होइन, बरु दलहरूको गतिशून्यता, जनअपेक्षाको बेवास्ता, र शासन प्रणालीप्रति बढ्दो अविश्वासको परिणाम हो। जनताले आवाज उठाए, सडकमा उत्रिए, र दलहरूले अब त्यसको अर्थ बुझ्नुपर्ने बेला आएको छ।
राजनीतिक दलहरूले अघिल्ला वर्षहरूमा जनताका आकांक्षालाई भाषणमा बाँधेर वास्तविक रुपान्तरण गर्न सकेनन्। कतै आक्रोश थियो, दलहरूले सुनेनन्; कतै अपेक्षा थियो, पूरा गरेनन्; र कतै षड्यन्त्रको छायाँ थियो, तर उनीहरूले देखेनन्। यही कारण आजको राजनीतिक अवस्था केवल असन्तोषको परिणाम नभई, चेतनाको नयाँ स्तरमा पुगेको समाजको माग हो।
दलहरूले बुझ्नुपर्ने पहिलो सत्य के हो भने—संघर्षको स्वरूप र स्वर अब बदलिएको छ। माक्र्सवादको जीवित आत्मा भनेकै ठोस अवस्थाको ठोस विश्लेषण हो, जसरी लेनिनले चेतावनी दिएका थिए, "पुरानो नारा नयाँ अवस्थाको उत्तर हुँदैन।" त्यसैले, दलहरूले पुराना नारामा अड्किएर नयाँ युगको माग बुझ्न असफल भए भने उनीहरू इतिहासका पृष्ठहरूमा मात्र सीमित हुनेछन्।
हाल गठन भएको सरकार फागुन २१ गते निर्वाचन गराउने कार्यादेशसहित आएको हो। तर यसको कार्यशैलीले शंका उत्पन्न गरेको छ। निर्वाचनतर्फको तयारीभन्दा बढी, दलहरूमाथि अंकुश लगाउने, नेताहरूको आवागमन सीमित गर्ने, र भयको वातावरण सिर्जना गर्ने प्रयासले लोकतान्त्रिक प्रक्रियामा अविश्वास फैलाएको छ। निर्वाचन केवल मिति घोषणा गरेर होइन, विश्वास र स्वतन्त्र वातावरण सृजना गरेर सम्भव हुन्छ।
त्यसैले, अब दलहरूले स्पष्ट रोडम्याप बनाउनु अत्यावश्यक छ —
पहिलो, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्नुपर्नेछ। यही लोकतन्त्रको पुनर्जीवनको पहिलो शर्त हो।
दोस्रो, आर्थिक र सामाजिक रूपान्तरण का ठोस कार्यक्रम तयार गर्नुपर्नेछ — जसमा जेएनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, र उत्तरदायित्वका मागको सम्बोधन हुनुपर्छ।
यसका लागि दलहरूले तत्काल निम्न कदम चाल्नुपर्छ —
- आपसी संवाद र विश्वासको वातावरण निर्माण
- निर्वाचन आयोगलाई सशक्त बनाउने
- सुरक्षाकर्मी र प्रशासनलाई निष्पक्ष रूपमा परिचालन गर्ने
- मतदाता नामावली संकलन र निर्वाचन तयारीमा जनसहभागिता बढाउने
- अन्तर्राष्ट्रिय समुदायमा विश्वसनीयता पुनःस्थापना गर्ने।
यी कार्यहरू केवल राजनीतिक औपचारिकता होइनन्, राष्ट्रको अस्तित्व र लोकतान्त्रिक स्थायित्वसँग प्रत्यक्ष सम्बन्धित छन्।
साथै, नेकपादेखि लिएर अन्य लोकतान्त्रिक शक्तिसम्म, सबैले फराकिलो सहकार्य र समन्वयको नयाँ संस्कृति विकास गर्नुपर्छ। जनताको विश्वास दलहरूबीचको द्वन्द्वले होइन, साझा राष्ट्रिय दृष्टिकोणले पुनःस्थापित हुन्छ।
अन्ततः, जेएनजी आन्दोलनले दलहरूलाई एउटा सन्देश दिएको छ—
जनताको मौनता समर्थन होइन, चेतावनी हो।
अब राजनीतिक दलहरूले यो चेतावनीलाई समयमै बुझेर जनताको भावनालाई कार्यदिशामा रूपान्तरण गर्न सके भने मात्र नेपालमा लोकतान्त्रिक पुनर्जागरण सम्भव छ।
नत्र इतिहास फेरि पनि त्यही पुरानो गल्ती दोहोर्याउनेछ, र जनताको असन्तोष अझ प्रचण्ड स्वरूपमा फिर्ता आउन सक्ने संभावनालाई नकार्न सकिदैन ।