काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपाली समाजमा राष्ट्रिय एकता, सद्भाव र सहअस्तित्वलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
छठ पर्व–२०८२ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धनमा यो पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरे।
“यस पर्वले समाजमा विद्यमान विभेद, कुरिति र विसङ्गतिहरूको अन्त्य गरी सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता अभिवृद्धि गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु,” राष्ट्रपति पौडेलले भने।
उनले छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न पनि सहयोग पुग्ने उल्लेख गरे।
सूर्य, जल र पृथ्वीप्रति श्रद्धा प्रकट गर्दै मनाइने यो पर्वमा भक्तजनले छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधामका साथ पर्व मनाउने परम्परा रहेको छ।
जनविश्वास अनुसार, विधिपूर्वक छठको व्रत सम्पन्न गरे मनोकामना पूरा हुने, परिवारको कल्याण हुने र दुःख–कष्ट हट्ने मानिन्छ।
राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, “सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जलाशय किनारमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने चलनले मानिसमा प्रकृति प्रतिको दायित्वबोध, पर्यावरणीय चेतना र पारिवारिक तथा सामाजिक ऐक्यबद्धता अभिव्यक्त गर्न सहयोग पुग्ने देखिन्छ।”