काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
छठ पर्व २०८२ को अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले युवा पुस्ताको आन्दोलनले देशमा उत्पन्न गरेको परिस्थितिलाई सकारात्मक दिशातर्फ लैजान सरकार, राजनीतिक दल, युवा पुस्ता, नागरिक समाज र आम नेपालीबीच साझा सहकार्य अपरिहार्य रहेको बताए।
उनले भने, ‘युवा पुस्ताले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजलाई सम्बोधन गर्न हामी सबैको साझा प्रतिबद्धता आवश्यक छ। असहज अवस्थालाई शान्ति र स्थायित्वमा रूपान्तरण गर्न सबैको सहकार्य अपरिहार्य छ।’
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक विभेद र विसङ्गतिको अन्त्य गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
उनका अनुसार वैदिक सनातन परम्परामा आधारित यो पर्व सूर्यदेव र छठी माताको आराधनाको प्रतीक हो। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने यस पर्वले समानता, पवित्रता र सामूहिक सहअस्तित्वको सन्देश दिने बताउँदै उनले भने, ‘सूर्यदेवको आराधना र छठी माताको कृपाले हामी सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस्।’
सभामुख घिमिरेले छठ पर्वले प्रकृति र मानवबीचको गहिरो सम्बन्ध, सूर्यको अनन्त ऊर्जा र मेहनतको मूल्य स्मरण गराउने अवसर प्रदान गर्ने पनि उल्लेख गरेका छन्।