काठमाडौं ।
पछिल्ला सात वर्षमा नेपालका टेलिकम सेवाप्रदायक कम्पनीहरूको आम्दानी झन्डै २८ प्रतिशतले घटेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) का अनुसार आर्थिक वर्ष २०७४/७५ मा दुई प्रमुख टेलिकम कम्पनीहरूले ९८ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेका थिए भने गत आर्थिक वर्ष २०८१/८२ मा यो घटेर ७१ अर्ब २१ करोड रुपैयाँमा सीमित भएको छ।
विशेषज्ञहरूका अनुसार आम्दानीमा आएको यो गिरावटले कम्पनीहरूको नाफा मात्र होइन, भविष्यका लगानी योजनामा समेत असर पारेको छ। ‘फाइभजी’ प्रविधिको पूर्वाधार निर्माणमा समेत कठिनाइ भइरहेको कम्पनीहरूको भनाइ छ।
उच्च कर दर, ‘ओटिटी’ सेवाहरूको (जस्तै—ह्वाट्सएप, भाइबर, म्यासेन्जर) तीव्र विस्तार र चर्को नवीकरण शुल्क आम्दानी घट्नुका प्रमुख कारण भएको बताइन्छ।
नेपाल टेलिकमका पूर्वअध्यक्ष भेषराज कँडेलका अनुसार, “टेलिकम सेवा अत्यावश्यक भए पनि यस क्षेत्रमा विलासिता वस्तुजस्तै कर लगाइँदै आएको छ। अहिले टेलिकम कम्पनीहरूले ३० प्रतिशत कर्पोरेट कर तिर्नुपर्छ, जबकि अन्य अधिकांश क्षेत्रमा यो दर २५ प्रतिशत मात्र छ।”
एनसेलका अनुसार, टेलिकम कम्पनीहरूले औसतमा आफ्नो आम्दानीको ५०–६० प्रतिशत हिस्सा कर र शुल्कका रूपमा राज्यलाई बुझाउनुपर्छ। विशेषज्ञहरू भन्छन्, लगातार बढ्दो करभार र नीतिगत अनिश्चितताका कारण टेलिकम क्षेत्र लगानी संकटमा पुगेको छ, जसको प्रत्यक्ष असर भविष्यमा सेवाको गुणस्तर र विस्तारमा पर्न सक्ने सम्भावना उच्च छ।
सञ्चार पूर्वाधारमा दीर्घकालीन लगानी घट्दै गए वर्तमान सेवाको सुधार र ग्रामीण क्षेत्रमा पहुँच विस्तार चुनौतीपूर्ण बन्ने देखिएको छ।