काठमाडौं ।
नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरूले पाउने तलब तथा भत्तासम्बन्धी विवरण सार्वजनिक भएको छ। गभर्नर, डेपुटी गभर्नर तथा बोर्ड सदस्यहरूले पाउँदै आएका तलब–सुविधा उल्लेखनीय रहेको देखिन्छ।
गभर्नर डा. विश्वनाथ पौडेलको मासिक तलब २ लाख ५० हजार रुपैयाँ रहेको छ। उनले बोर्ड बैठक भत्ताका रुपमा १ लाख १७ हजार रुपैयाँ तथा अन्य विभिन्न सुविधाबापत ३ लाख १६ हजार ५ सय ३८ रुपैयाँ पाउने गरेका छन्। पौडेलले आर्थिक वर्ष २०८१/८२ को जेठ ७ गतेदेखि कार्यभार सम्हालेका हुन्। उनले अघिल्लो वर्ष दुई महिनाको तलब–भत्ताबापत ६ लाख ८३ हजार ६ सय ३ रुपैयाँ व्यवस्थापित गरेका थिए।
केन्द्रीय बैंकको बोर्ड बैठकमा सहभागी सदस्यहरूले प्रति बैठक ९ हजार रुपैयाँ भत्ता पाउँछन्। साथै, कार्यकारी बोर्ड सदस्यहरूले इन्धन, सवारी मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक सुविधा तथा चिकित्सा सेवा लगायतका अन्य अतिरिक्त सुविधाहरू पनि पाउँदै आएका छन्।
डेपुटी गभर्नर निलम ढुङ्गानाले गएको वर्ष १४ लाख ६० हजार ४ सय रुपैयाँ तलब प्राप्त गरेकी छन्। उनले बोर्डमार्फत ३ लाख ६९ हजार रुपैयाँ भत्ता तथा अन्य सुविधाबाट ४६ लाख रुपैयाँसहित कुल ६४ लाख ३८ हजार रुपैयाँ बुझेकी छन्।
त्यस्तै, डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि १४ लाख ६० हजार ४ सय रुपैयाँ तलब पाएका छन्। उनले बोर्डमार्फत ४३ लाख ४७ हजार ७ सय ८९ रुपैयाँ भत्ता तथा अन्य सुविधाबाट ४३ लाख ४७ हजार रुपैयाँसहित कुल ६१ लाख ८६ हजार रुपैयाँ प्राप्त गरेका छन्।