वरिष्ठ मानसिक रोग विशेषज्ञ तथा दीर्घ समयसम्म सरकारी सेवामा महत्वपूर्ण जिम्मेवारी सम्हालेका डा. निराकारमान श्रेष्ठको जीवन–यात्रा, पेशागत अनुभव र अनुभूतिको समग्र चित्र प्रस्तुत गर्ने कृति ‘सङ्घर्षबाट सफलता’ हालै सार्वजनिक भएको छ। स्वास्थ्य प्रशासनदेखि मानसिक स्वास्थ्य सेवाको संस्थागत विकाससम्म डा. श्रेष्ठले पुर्याएको योगदान पुस्तकमा समेटिएका घटनाक्रमबाट स्पष्ट रूपमा झल्किन्छ।
नेपालका विभिन्न भौगोलिक तहमा चिकित्सकका रूपमा काम गर्दा उहाँले भोगेका चुनौती, संघर्ष र संवेदनशील क्षण पुस्तकमा निकै सरल तर हृदयस्पर्शी ढंगले अभिव्यक्त भएका छन्। बिरामीका पीडालाई केवल चिकित्सकीय आँखाले मात्र नभई मानवीय स्पर्शले बुझ्ने उहाँको दृष्टिकोण, मानसिक रोगीबाट झापड खानुपरेको यथार्थ तथा गरिब बिरामीलाई आफ्नै खल्तीबाट सहयोग गरेको प्रसंगले पुस्तकलाई मानवकर्मीको संवेदनशीलता र दायित्वप्रतिको बोधमार्फत सबल बनाउँछ।
लखनउमा एमबीबीएस अध्ययनका क्रममा भोगिएको ¥यागिङ संस्कृतिदेखि प्राध्यापकहरूसँगका अचम्मलाग्दा प्रसंग, भूलभुलैयामा तीन घण्टा अल्मलिनुपरेको रोमान्चक अनुभवजस्ता घटनाले पुस्तकलाई मनोरञ्जनात्मक र रोचक पनि बनाएका छन्। साथै, तेह्रथुममा बिताएको बाल्यकाल, सामाजिक रूढिवाद, गरिबी र गाउँले जीवनका कथा लेखनको निखारसहित प्रस्तुत छन्।
पुस्तकले डा. श्रेष्ठको सरकारी सेवाको उतार–चढाव, राजनीतिक तथा प्रशासनिक दबाब, पोस्टमार्टम रिपोर्टमा गरिएका हस्तक्षेप, मानसिक रोग अस्पतालमा सुधारका प्रयास र स्वास्थ्य सेवामा भोगिनुपर्ने जटिलताहरू उजागर गर्छ। मानसिक रोगीलाई जेल होइन उपचार केन्द्रमा राख्नुपर्ने अधिकारको पक्षमा उभिएको उनको प्रयास पुस्तकमा महत्वपूर्ण मोडका रूपमा प्रस्तुत छ।
अन्तर्राष्ट्रिय भ्रमण, सांस्कृतिक भिन्नता, चिकित्सकीय सेवामा आउने चुनौती तथा हास्यव्यङ्ग्यले भरिएका प्रसंगहरूले पाठकलाई वर्ल्ड–टुरको अनुभव दिलाउँछन्। जीवनको आधारशिला गीता रहेको र ‘कर्तव्य पूरा गर्नाले नै आनन्द प्राप्त हुन्छ’ भन्ने उनको जीवन–दर्शन पुस्तकभरि प्रवाहित छ।
झन्डै ४ सय पृष्ठ, १६५ शीर्षक, र आकर्षक रङ्गीन तस्वीरहरूसहित सजिएको पुस्तक वरिष्ठ पत्रकार लक्ष्मण अधिकारीले सम्पादन गरेका हुन्। पुस्तकले मानसिक स्वास्थ्य, प्रशासनिक सुधार र दुव्र्यसन नियन्त्रणका विषयमा नीति निर्मातादेखि स्वास्थ्यकर्मी र सर्वसाधारण सबैलाई उपयोगी सन्देश दिन्छ।
मानव सेवा, पेशागत इमानदारी, संघर्ष र समर्पणको गहिरो कथा खोज्ने जो–कोहीका लागि ‘सङ्घर्षबाट सफलता’ एक महत्त्वपूर्ण पाठ्य सामग्री बनेको छ।