काठमाडौं
‘सामाजिक सुरक्षा : सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने मूल नाराका साथ आज देशभर आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको दिनको स्मरणमा यो दिवस मनाइँदै आएको हो। ‘असल श्रम सम्बन्धको आधार—सामाजिक सुरक्षा र रोजगार’ भन्ने सूत्रलाई केन्द्रमा राखी आठ वर्षअघि सुरु गरिएको योजनाको प्रगति र चुनौतीबारे आज विभिन्न कार्यक्रममार्फत बहस हुने छ।
दिवसका मुख्य समारोह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको छ, जसमा प्रधानमन्त्री सुशील कार्की मुख्य अतिथिका रूपमा सहभागी हुनेछन्।
२०७५ मंसिर ११ गते सरकारले नेपालको संविधानमा समेटिएको सामाजिक सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा घोषणा गरेको थियो। त्यसैअन्तर्गत सामाजिक सुरक्षा कोषले श्रमिकको योगदानमा आधारित योजनाहरू सञ्चालन गर्दै आएको छ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्दै आर्थिक तथा सामाजिक जोखिम न्यूनीकरण गर्ने कोषको लक्ष्य रहेको छ। उनका अनुसार कोषले औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई क्रमशः योजनामा समेट्दै दायरा विस्तार गरिरहेको छ।
कोषका तथ्यांकअनुसार हालसम्म साढे २६ लाख नागरिक सामाजिक सुरक्षामा आबद्ध भइसकेका छन्। तीमध्ये औपचारिक क्षेत्रका ६ लाख ४९ हजार ५११, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ हजार ५७९, अनौपचारिक क्षेत्रका ७९९ तथा स्वरोजगार क्षेत्रका ५८२ जना श्रमिक रहेका छन्।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षासहितका पाँच थरीका योजना सञ्चालन गर्दै आएको छ। यी योजनाबाट श्रमिक तथा तिनका परिवारले उपचार सहायता, पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायत सुविधा पाउँदै आएका छन्।
हालसम्म कोषमा ९५ अर्ब ६८ करोड रुपैयाँ योगदान सङ्कलन भएको छ भने दुई लाख ५३ हजार १४३ श्रमिकले १७ अर्ब ७२ करोड रुपैयाँ बराबरका दाबी भुक्तानी प्राप्त गरिसकेका छन्।
अधिकारीका अनुसार दायरा विस्तारसँगै योजनाको प्रभावकारिता वृद्धि, सेवा पहुँच विस्तार तथा दाबी निबटान प्रक्रियालाई अझ सुगम बनाउनेतर्फ कोषले प्राथमिकता दिइरहेको छ।