कालीकोट
कालीकोटका सामुदायिक विद्यालयहरूमा विषयगत शिक्षक अभाव गम्भीर समस्या बनेको छ। विशेष रूपमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक पाउन कठिनाइ बढेपछि विद्यालयहरूको शैक्षिक सन्चालनमै चुनौती सिर्जना भएको स्थानीय तहहरूले बताएका छन्।
नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्चस्थित रूपादेवी माध्यमिक विद्यालयले गणित विषयका शिक्षकको दरबन्दीका लागि १९ पटकसम्म विज्ञापन गरे पनि दर्खास्त नपरेको विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले जानकारी दिए। “गणितका शिक्षक पाउनै मुस्किल छ,” उनले भने, “अनुमतिपत्र पाएको शिक्षक आवश्यक हुन्छ, अहिले पनि कोही दर्खास्तकर्ता आएनन्।” विद्यालयले गत कात्तिक ३० गते १९औँपटक विज्ञापन गरे पनि लाइसेन्स प्राप्त शिक्षक नआएपछि फेरि विज्ञापन गर्नुपर्ने अवस्था भएको प्रधानाध्यापक बुढाको भनाइ छ। सोमबार अन्तिम म्याद भए पनि एकजनाले पनि आवेदन नपरेको उनले बताए।
स्थानीय योगदान (मानापाथी) उठाएर २०३५ सालमा स्थापना भएको रूपादेवी माध्यमिक विद्यालयमा बाल विकासदेखि कक्षा १० सम्म ३७५ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा तीन स्थायी प्राथमिक दरबन्दी छन् भने पालिका तथा निजी स्रोतबाट १३ जना शिक्षक कार्यरत छन्।
यस्तै, शुभकालिका गाउँपालिका–५ का माध्यमिक विद्यालयहरूमा पनि विषयगत शिक्षक पाउन समस्या उस्तै छ। गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यका अनुसार दाहाल मावि सुकाटिया र जनता माध्यमिक विद्यालय छातीसहितका विद्यालयहरूले संघीय अनुदानबाट आएका विज्ञान, गणित र अंग्रेजी विषयका दरबन्दीमा शिक्षक नियुक्त गर्न नसकेको बताए। “स्थायी दरबन्दी नभएका १२ माध्यमिक विद्यालयलाई प्रतिविद्यालय तीन जना विषयगत शिक्षकको व्यवस्था संघीय अनुदानमार्फत छ,” आचार्यले भने, “तर प्रतिव्यक्ति ४३ हजार ६८९ रुपैयाँ तलब हो पनि, यहाँ शिक्षक पाउनै गाह्रो छ।”
कालीकोटको पलाता गाउँपालिकाले पनि गत वर्ष संघीय अनुदानकै बजेटबाट विज्ञापन गरे तर अंग्रेजी, गणित, विज्ञान विषयका शिक्षकका लागि एकजनासमेत दर्खास्त नपरेको शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईले बताए। उनका अनुसार विषयगत शिक्षक अभाव कालीकोटका नौवटै स्थानीय तहको साझा समस्या बनेको छ।