काठमाडौँ
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार–प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले लेखेको पुस्तक “जनताको बहुदलीय जनवादका आधार” सोमबार सार्वजनिक गरिएको छ।
सो अवसरमा पार्टीका उपमहासचिव एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस चौतारी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरेका थिए।
लेखक गौतमका अनुसार, पार्टीको ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा मदन भण्डारीको जीवन र व्यक्तित्व झल्किने यस पुस्तकको सान्दर्भिकता अझै बढेको छ। उनले भने, “महाधिवेशनको तयारीका क्रममा वडा तहसम्मका कार्यकर्ताले पार्टीको नीति, विचार र जनताको बहुदलीय जनवाद विषयमा छलफल गर्ने भएकाले पुस्तक उपयोगी हुनेछ।”
पत्रकारितामा पृष्ठभूमि राख्ने गौतमले यसअघि पनि सात पुस्तक लेखन तथा सम्पादन गरिसकेका छन्। उनका प्रकाशित कृतिहरूमा नेपाली महिला आन्दोलन, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (२०५०), र जनताको बहुदलीय जनवादका आधार (२०६३) समावेश छन्।
पुस्तकलाई सात खण्डमा विभाजन गरिएको छ। यसमा समावेश विषयहरूमा मदन भण्डारीको जीवनी र व्यक्तित्व, नेकपाको इतिहासदेखि ११औँ महाधिवेशनसम्मको यात्रा, जनताको बहुदलीय जनवादको दार्शनिक तथा सैद्धान्तिक आधार, बहुदलीय जनवादका कार्यक्रम र सिद्धान्त, परिवर्तित सन्दर्भमा विकसित बहुदलीय जनवाद, तथा समकालीन राजनीतिक परिघटना र कार्यभार समेटिएका छन्।
पुस्तक विमोचन कार्यक्रममा नेतृ तथा कार्यकर्तासँगै पत्रकार र साहित्यकर्मीको समेत उपस्थिति रहेको थियो।