काठमाडौं
सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले गोरखाको चुम्चेतमा बन्ने चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई अनुमति दिएको हो।
चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने यो आयोजना ४५ मेगावाट क्षमताको रहेको छ। बुढीगण्डकी नदीमा प्रवाही प्रकृतिमा निर्माण हुने यस आयोजनाबाट वार्षिक ३४८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। उत्पादित बिजुली प्रस्तावित न्यु बुढीगण्डकी प्रोक सबस्टेशनमा जोडिनेछ। त्यसका लागि ११० किलोमिटर लामो, २२० केभी क्षमताको प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्नेछ।
चिलिमे जलविद्युत् कम्पनीका लागि स्यार खोला आयोजना अर्को महत्वपूर्ण परियोजना हो, जसले कम्पनीले निर्माण सम्पन्न गरेका रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी आयोजना पछि विद्युत् अभाव पूर्ति गर्न मद्दत पुग्नेछ।
यसैगरी विभागले मिडिल लिखु जलविद्युत् आयोजना (८.६० मेगावाट, रामेछाप) र छोमरोङ खोला जलविद्युत् आयोजना (४.८९ मेगावाट, घान्द्रकु हाइड्रो) लाई पनि विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ।
विद्युत् विकास विभागले हालसम्म २६३ आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरिसकेको छ, जसको कुल क्षमता ११,०९७ मेगावाट रहेको छ। चालु आर्थिक वर्षमा हालसम्म १३ आयोजनालाई अनुमतिपत्र दिइसकिएको छ भने ४२ आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन्। विभागमा अहिलेसम्म १९३ आयोजनाले सर्वेक्षण अनुमतिका लागि आवेदन दिएका छन्, ती आयोजनाको क्षमता ९,६८९ मेगावाट रहेको छ।