काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी हक सुनिश्चित गर्न राज्यका सबै तहमा प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताएका छन्। ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत क्षेत्रमा अपांगता भएका नागरिक अझै पछि परिरहेको भन्दै तिनको सटीक पहिचानसहित आवश्यक सुविधा र अवसरमा समान पहुँच स्थापित गर्न राज्य जिम्मेवार रहनुपर्ने उल्लेख गरे।
राष्ट्रपति पौडेलले संविधानले अपांगता भएका नागरिकलाई सम्मानपूर्वक जीवनयापन गर्ने हक, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँच, र समावेशी–सहभागितामूलक सिद्धान्तका आधारमा न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्य राखेको स्मरण गराइन्। विभेदलाई निषेध गर्दै मानवीय सहभागिता सुनिश्चित गर्नु संविधानको मूल अभिप्राय भएको उनको भनाइ छ।
उनका अनुसार कार्यालय, विद्यालय, सार्वजनिक सवारी, सडक, पार्क, मठमन्दिर लगायत सरकारी, सार्वजनिक र निजी संरचनामा अपांगता भएका व्यक्तिकालागि मैत्रीपूर्ण भौतिक पहुँच र आवश्यक वातावरण निर्माण गर्नु आजको अपरिहार्यता हो।
समाजमा रहेका नकारात्मक धारणामा परिवर्तन ल्याई समावेशिता, समानता, मानवअधिकार, पहुँचयोग्य वातावरण र भेदभावरहित समाज निर्माणमा सरकार, समुदाय, परिवार तथा संस्थाहरूले सामूहिक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता उनले औंल्याइन्।
संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि प्रत्येक डिसेम्बर ३ मा विश्वभर मनाइँदै आएको अन्तर्राष्ट्रिय अपांगता दिवस यस वर्ष नेपालमा ‘अपांगता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन’ नारासहित विविध कार्यक्रममार्फत मनाइँदैछ।