१७ मंसिर, काठमाडौं ।
नयाँ बानेश्वरमा २३ भदौमा १९ वर्षीय श्रेयम (श्रीराम) चौलागाईं प्रहरीको गोली लागेर मृत्यू भएपछि विद्यार्थी संगठनहरूको भूमिका फेरि एकपटक विवादको केन्द्रीय बिन्दु बनेको छ। व्यवस्थापन संकायका कक्षा–१२ का विद्यार्थी चौलागाईं भ्रष्टाचारविरोधी र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको जेनजी आन्दोलनमा सहभागी रहेका थिए।
प्रहरी दमनमा ज्यान गुमाउने विद्यार्थीको संख्या बढ्दै जाँदा पनि विद्यार्थी हितका लागि खुल्ने दाबी गर्ने संगठनहरू मौन बसेको आरोप सर्वत्र लाग्यो। आन्दोलनमा मारिएका ४५ जनालाई शहीद घोषणा गरिएपछि पनि विद्यार्थी संगठनहरू जनभावनासँग असम्बद्ध देखिएका टिप्पणिहरू झन् बढे।
जेनजी आन्दोलनलाई राजनीतिक दलहरूले सुधारको सन्देश मानिरहेका बेला विद्यार्थी संगठनहरू भने आन्दोलनलाई अपराधीकरण गर्ने प्रयासमा लागेको आलोचना भइरहेको छ। बाहिर समर्थनको भाषा बोले पनि व्यवहारमा उनीहरू विरोधमा सक्रिय रहेको आरोप आन्दोलनकारीहरूले लगाएका छन्।
एक महिनापछि एमाले निकट अनेरास्ववियुले काठमाडौंका मेयर बालेन्द्र शाह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दियो। त्यसपछि कांग्रेस निकट नेविसंले पनि उही कदम दोहोर्यायो। आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोगबारे प्रतिक्रिया नदिई विद्यार्थी संगठनहरू गोली चलाउने शक्तिकै पक्षमा उभिएको आरोप सुदन गुरुङले लगाएका छन्।
अनेरास्ववियुका तत्कालीन अध्यक्ष सुजन कडरियाले आन्दोलनबीच नै राजीनामा दिएपछि संगठनभित्रै ठूलो विवाद उत्पन्न भयो। ‘आम विद्यार्थी सडकमा ढलिरहँदा पदमा बस्न सकिन,’ कडरियाले स्पष्ट पारे।
कोभिड महामारीदेखि नै विद्यार्थी विषयमा मौनता अपनाइरहेका संगठनहरू जेनजी आन्दोलनपछि थप आलोचनाको केन्द्र बनेका छन्। कडरियापछि नेतृत्व सम्हालेका दीपक धामीले जेनजीका केही प्रतिनिधिलाई सदस्यता दिएर ‘जेनजीको भावना समेटिएको’ दाबी गरे पनि मातृपार्टी एमाले र संगठनका अन्य नेताहरू आन्दोलनकारीलाई अराजक र ‘देशद्रोही’ भन्दै आएका छन्।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा विद्यार्थी संगठनहरूको कमजोर भूमिका, दलीय नियन्त्रण र मौलिक विद्यार्थी मुद्दाप्रति उदासीनताकै कारण युवाहरू स्वस्फूर्त रूपमा सडकमा उत्रिन बाध्य भएको निष्कर्ष निकाल्छन्।
‘जब विद्यार्थी संगठनले विद्यार्थीको वास्तविक आवाज बोकेनन्, तब युवाहरू आफैं सडकमा आए,’ माथेमाले बताए।
यी घटनासँगै विद्यार्थी संगठनहरूको औचित्यमाथि उठेको प्रश्न अब ‘अस्तित्व’कै बहसमा रूपान्तरण हुँदै गएको विश्लेषकहरूको टिप्पणी छ।